१४ वैशाख, काठमाडौं । धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेन्डरी स्कुलले १० जना नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिलाउने तयारी गरेको सूचना राष्ट्रिय परीक्षा बोर्डमा पुगेको थियो ।

स्कुलका प्रधानाध्यापक गोपालबहादुर महतले आफ्ना भाइसहित १० जना विद्यार्थीको परीक्षा फारममा अर्कै व्यक्तिको फोटो टाँसेर परीक्षा दिलाउन लागेको बोर्डमा तीन दिन अघि गुनासो आएको परीक्षा नियन्त्रक महाश्रम शर्माले बताए ।

गुनासो आएपछि बोर्डले छानबिन गर्दा महतले ४ जना नक्कली परीक्षार्थी खडा गरेको स्वीकार गरेको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए । प्रधानाध्यापकले बदमासी गरेको पुष्टि हुने बित्तिकै बोर्डले बिहीबार सीआईबी र काठमाडौं महानगरलाई छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको छ ।

नियन्त्रक शर्माले भने ‘प्रिन्सिपलको बदमासी देखियो । उहाँले स्वीकार पनि गरिसक्नु भएको छ । त्यसैले हामीले हिजै सीआईबी र महानगरलाई थप छानबिन गरेर आवश्यक कारबाही गर्न पत्राचार गरेका छौं ।’

महानगरले भने कक्षा १२ को परीक्षा महानगरपालिकाको कार्यक्षेत्रभित्र नपर्ने जवाफ बोर्डलाई दिइसकेको छ । महानगरको पत्रमा भनिएको छ, ‘कक्षा १२ को परीक्षा सम्बन्धी कार्य स्थानीय तहको कार्यक्षेत्रभित्र नपर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

नक्कली परीक्षार्थी बनेका ४ जनालाई परीक्षामा निषेध गरिएको श्रर्माले बताए ।

Aangedreven door de Echo RSS-plug-in door CodeRevolution.