२ वैशाख, काठमाडौं । भारतको सर्वोच्च अदालतले न्यूजक्लिकका संस्थापक प्रबीर पुरकायस्थलाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश बीआरइ गवईको इजलासले उनलाई गिरफ्तार गरेर हिरासतमा राख्ने काम गैरकानुनी भन्दै रिहाइको आदेश दिएको हो । सर्वोच्च अदालतले पुरकायस्थलाई विना कुनै शर्त रिहा गर्न पनि भनेको छ ।

गिरफ्तारीको समयमा पुरकायस्थलाई कारण समेत जानकारी नगराइएको भन्दै अदालतले गिरफ्तारीबारे प्रश्न उठाएको छ । गत वर्षको अक्टोबरमा पुरकायस्थलाई चीनबाट अवैध पैसा लिएको भन्दै गिरफ्तार गरिएको थियो । अदालतले रिहाको आदेश दिएपनि उनी माथि अर्को मुद्दा दर्ताको तयारी भएको छ ।

के पुरकायस्थ फेरि गिरफ्तारमा पर्लान् ?

पुरकायस्थ फेरि गिरफ्तार हुने संभावना न्यून छ । एकपटकको गिरफ्तारी खारेज भएसँगै फेरि त्यही मुद्दामा अभियुक्तलाई गिरफ्तार गर्न मिल्दैन । भारतमा गैरकानुनी गतिविधि रोकथाम अधिनियम युपीएको मुद्दामा धरौटीमा छाड्ने आदेश मुश्किलले प्राप्त हुने गर्छ ।

तर गिरफ्तारी प्रक्रियानै मिचेर कारबाही अघि बढाइएको पाइएपछि सर्वोच्च अदालतले उनलाई धरौटीमा रिहाको आदेश दिएको हो । गिरफ्तारीको समयमा कारण नबताइएको र पुरकायस्थलाई वकिल समेत राख्न नदिएकोबारे अदालले प्रश्न उठाएको हो ।

न्यूयोर्क टाइम्समा आएको समाचारको आधारमा गत वर्षको अक्टोबरमा उनलाई गिरफ्तार गरिएको थियो । न्यूयोर्क टाइम्सले चिनियाँ अफवाह फैलाउनका निम्ति अमेरिकी करोडपतिबाट न्यूजक्लिकले पैसा लिने गरेको समाचार प्रकाशन गरेको थियो । त्यसै समाचारलाई आधार मान्दै न्युजक्लिकविरुद्ध मुद्दा परेको थियो । न्युजक्लिकले भने न्यूयोर्क टाइम्सको समाचारको खण्डन गरेको थियो ।

अक्टोबरमा प्रहरीले वेबसाइटका संस्थापक प्रबीर पुरकायस्थ, पत्रकार अभिसार शर्मा, औनिद्यौ चक्रवर्ती, भाषा सिंह, संजय रजौरा, इतिहासकार सोहेल हासमीका घरमा छापा मारेको थियो ।

प्रहरीले उनीहरुबाट मोबाइल, ल्यापटपसहितका सामग्री जफत गरेको थियो । दिल्ली पुलिसले आतंकवाद विरोधी कानुन यूपीए अन्तर्गत न्युजक्लिकका प्रधान सम्पादक प्रबीर पुरकायस्थ र मानव संशाधन प्रमुख अमित चक्रवर्तीलाई गिरफ्तार गरेको थियो ।

सरकारले सन् २०२१ देखिनै यस वेबसाइटमा आउने सहयोगको श्रोतबारे जाँचबुझ गरिरहेको थियो ।

त्यसेबला दिल्ली पुलिसको आर्थिक अपराध शाखामा वेबसाइटविरुद्ध उजुरी परेको थियो । त्यसपछि आर्थिक मामिलाबारे छानबिन गर्ने निकाय इडीमा पनि छुट्टै अनुसन्धान अघि बढिरहेको थियो ।

Aangedreven door de Echo RSS-plug-in door CodeRevolution.