११ जेठ, काठमाडौं । नागरिकतासम्बन्धी मुद्दामा हिरासत राखिएका कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना भएका छन् ।

चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । पहिले देखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या भोगिरहेका सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो ।

तर प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल लगिएको छ । सिरोहियाको पछिल्लो अवस्था चिन्ताजनक पाएकाले परीक्षणहरु सुरु गरेको, तर रिपोर्ट प्राप्त गरिनसकेको त्यहाँस्थित डाक्टर एसके सिंहले अनलाइनखबरसँग बताए ।

‘मुटुको ब्लकेज समस्या आएपछि मुम्बईमा एन्जिओग्राफी गराउनुभएको रहेछ, अहिले पनि ग्रान्डीमा फलोअपमा रहनुभएको बुझ्यौं’ सिंहले भने, ‘क्रिटिकल कन्डिसनमा हुनुहुँदोरहेछ भन्ने थाहा पायौं । ईसीजी हेर्दा स्थिर देखिए पनि अरु समस्या बढ्ता छ । परीक्षणको रिपोर्ट प्राप्त भइनसकेकाले छदेखि आठ घन्टाको बीचमा फेरि परीक्षण गराउनुपर्छ ।’

चिकित्सकहरुले सिरोहियाको पछिल्लो अवस्थाबारे कार्डियोलोजिस्ट डा ओममूर्ति अनिललाई टेलिफोनमार्फत् ब्रिफिङ गराएका छन् । अनिलले सिरोहियाको स्वास्थ्य समस्यालाई हेर्दै आएका छन् ।

मंगलबार कान्तिपुरबाट गिरफ्तार सिरोहियालाई प्रहरीले जनकपुर लगेको थियो । सिरोहिया शुक्रबार अपराह्नसम्म सामान्य अवस्थामा रहे पनि हिरासतमा स्वास्थ्य प्रतिकुलता भोगेका थिए । उनलाई मुटुको चालमा कठिनाई परेको र रिंगटा लागेको थाहा पाएपछि परिवारले तुरुन्त अस्पताल पठाउन आग्रह गरेका थिए । तर प्रशासनले ढिलासुस्ती गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

सिरोहियाका वकिल रमन कर्णले उनको अवस्थाबारे समयमा अवगत गराउँदा गराउँदै पनि ढिलासुस्ती गरिएको भन्दै असन्तोष जनाए ।

कान्तिपुरले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै शृंखलाबद्ध रिपोर्ट प्रकाशित गर्दैआएकाले प्रतिशोधपूर्वक आफूलाई गिरफ्तार गरिएको सिरोहियाले बताउँदै आएका छन् ।

धनुषा जिल्ला अदालतले उनलाई थप तीन दिन हिरासत राख्न शुक्रबार म्याद थप गरेको छ । अधिवक्ता कर्णका अनुसार नागरिकताकै समस्या देखाइएकाले उनीसँग नागरिकता नम्बर मिलेको भनिएका अर्का व्यक्तिको खोजी अहिलेसम्म नगरिएको भन्दै कानुन व्यवसायीहरुले प्रश्न उठाएका छन् ।

प्रकाशक सिरोहिया पक्राउबारे देशभित्रका र अन्तर्राष्ट्रिय संस्थाहरुले चासो व्यक्त गर्दै शीघ्र रिहाईको माग गरेका छन् ।

Aangedreven door de Echo RSS-plug-in door CodeRevolution.