१५ चैत, काठमाडौं । जोरपाटी बस्ने ५५ वर्षका दीपक सापकोटालाई एक हप्ताअघि रुघाखोकी र ज्वरोको समस्या देखियो । मौसमी रुघाखोकी लागेको अनुमान गरेर तीन दिन घरमै बसे, तर समस्या थपिँदै गयो । जिउ अत्यधिक दुख्ने, थकित हुने, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने र स्वरसमेत भासिँदै गएपछि उनी नजिकैको निजी अस्पताल पुगे ।

दमको समस्यासमेत भएका सापकोटालाई परीक्षणको क्रममा मौसमी फ्लू सँगै कोरोना संक्रमण भएको पुष्टि भयो । तत्काल नै आईसीयूमा राख्नुपर्ने अवस्था आएपछि स्वास्थ्यकर्मीले उनलाई टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रेफर गरे ।

बालाजु बस्ने शान्ति तामाङलाई पनि रुघाखोकी, ज्वरो, सुख्खा खोकी, घाँटी दुख्ने, शरीर र टाउको दुख्नेजस्ता समस्या देखियो । घरमै आराम गरेकी उनी पाँच दिनपछि सास फेर्नै गाह्रो हुने, लगातार खोकी लाग्ने र शरीर दुख्ने समस्या देखिएपछि सोमबार त्रिवि शिक्षण अस्पताल पुगिन् ।

तामाङलाई मौसमी फ्लू सँगै कोरोना संक्रमण भएको पुष्टि भएपछि हाल टेकुस्थित शुक्रराज अस्पतालमै उपचार गराइरहेकी छन् । हाल काठमाडौ उपत्यकाभित्र मौसमी रुघाखोकी सँगै कोरोना भाइरस फैलिरहेको छ । जसले ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएका नागरिकलाई बढी असर गर्ने भएकाले आईसीयूमै राखेर उपचार गर्नुपर्ने अवस्था आउने चिकित्सक बताउँछन् ।

संक्रामक रोगको उपचार गरिने देशकै प्रमुख स्वास्थ्य केन्द्र टेकु अस्पतालमा एक हप्ताको बीचमा ९ जना सिकिस्त बिरामी भर्ना भएका छन् । कोरोना संक्र पुष्टि भएका उनीहरुलाई आईसीयूमा राखेर उपचार गर्नुपरेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए ।

‘एक साताको बीचमा ९ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपरेको छ । हाल तीन जना आईसीयूमै छन्’, डा. बसौलाले अनलाइनखबरसँग भने, ‘सबै जना जेष्ठ नागरिक गम्भीर बिरामी नै भएर अस्पताल आइपुगेका छन् ।’

परीक्षण गर्दा कोरोना पुष्टि

हाल रुघाखोकी र ज्वरोले समुदायस्तरमा प्रकोपको रूप लिंदै गइरहेको छ । धेरैले रुघाखोकी र ज्वरोलाई सामान्य रूपमा लिँदा गम्भीर समस्या देखा परेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

डा. पुनका अनुसार समुदायस्तरमा फ्लु र कोराना भाइरस सक्रिय देखिएको छ । ‘मौसम परिवर्तनसँगै फ्लु भाइरस विशेषतः फेबु्रअरी–मार्च महिनामा सक्रिय हुन्छ ।

यस्तै कोरोना पनि अहिले सक्रिय देखिएकाले केही मानिसमा कडा लक्षण देखिएको छ’, डा. पुनले अनलाइनखबरसँग भने, ‘धेरैजसो व्यक्तिमा निमोनिया हुँदा अक्सिजन दिएरै उपचार गर्नुपर्ने अवस्था छ ।’ डा. पुन फ्लु र कोरोना भाइरससँगै देखिएकोले यसलाई ‘फ्लुभिड’ नाम दिन्छन् ।

उनका अनुसार यसको सबैभन्दा बढी असर दीर्घरोगी र ज्येष्ठ नागरिकमा परेको छ । यस्तै युवा र बालबालिकामा रुघाखोकी लामो समयसम्म रहने र छाती निरन्तर घ्यारघ्यार हुने नयाँ समस्या देखिएको छ ।

‘धेरैजसोलाई ८–१० दिन आराम गरेपछि स्वास्थ्यमा सुधार हुँदै जान पनि सक्छ । तर यी लक्षणहरू हाल धेरैमा केही कडा देखिएको छ । धेरैको स्वर समेत भासिएको देखिन्छ’, डा. पुनले भने ।

धुलिखेल अस्पतालमा आईसीयूमा रहेका पाँच जनामध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डा. राजीव श्रेष्ठ बताउँछन् । मौसमी रुघाखोकी र कोरोना संक्रमण एकैपटक हुँदा धेरै मानिसलाई गम्भीर अवस्थामा समेत पुर्‍याएको उनले जानकारी दिए ।

धेरैजसोलाई ८–१० दिन आराम गरेपछि स्वास्थ्यमा सुधार हुँदै जान पनि सक्छ । तर यी लक्षणहरू हाल धेरैमा केही कडा देखिएको छ । धेरैको स्वर समेत भासिएको देखिन्छ। –डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ

केही सातायता मौसमी रुघाखोकी लागेका मानिसलाई निको हुन धेरै समय लाग्नुले कोरोना भाइरस समुदायस्तरमै रहेको पुष्टि हुने डा. श्रेष्ठको भनाइ छ । अझै पनि कोरोना भाइरस सक्रिय रहेकाले सतर्कता अपनाउन र खोप लगाउन उनको सुझाव छ ।

चिकित्सकका अनुसार कोरोना संक्रमण बढ्न थालेको एकदेखि दुई हप्तापछि बिरामीको संख्या बढ्न सक्छ । अर्थात् आजभोलि अस्पताल भर्ना भएका बिरामी दुई हप्ताअघि संक्रमित भएका हुन् ।

सामान्य ज्वरो आएको र खोकी लागेका धेरै बिरामी परीक्षणको दायरामा नआएकाले आगामी दिनमा संक्रमितको संख्या बढेर अस्पताल भर्ना हुने संख्या बढ्नसक्ने डा. बसौलाको अनुमान छ ।

गत पुस महिनामा कोरोनाको अत्यधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको सबभेरियन्ट जेएन.वान फैलिएको थियो । तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जिनोमी सिक्वेसिन्ङ नगर्दा कुन भेरियन्टले गर्दा संक्रमण भएको यकिन गर्न नसकिएको विज्ञ बताउँछन् ।

‘फेरि देखियो स्वाद र गन्ध थाहा नपाउने र स्वर भाँसिने लक्षण’

कोरोनाको ओमिक्रोन भन्दा अगाडिको भेरियन्टहरूमा मुख्य लक्षणको रूपमा देखिएको स्वाद र गन्ध हराउने लक्षण कोरोना संक्रमितमा फेरि देखिन थालेको डा. पुन बताउँछन् । पछिल्लो समय संक्रमण पुष्टि भएका अधिंकाश मानिसमा स्वाद र गन्ध थाहा नपाउने तथा स्वर समेत भाँसिएको अनुभव गरेको उनले बताए ।

संक्रमितमा स्वाद र गन्ध थाहा नपाउने, जाडो हुने तर ज्वरो धेरै नदेखिने, आँखाको गेडी दुख्ने, टाउको र शरीर दुख्ने, अत्यधिक थकान महसुस हुने र खोकी लाग्ने लक्षण समेत देखिएका छन् ।

‘कोरोना’ अब रहिरहन्छ

कोरोना भाइरस संक्रमित संख्या निरन्तर घटेकाले धेरैले यसलाई बिर्सिन पनि थालेका छन् । तर जनस्वास्थ्यविदहरू भने कोरोना महामारीकै रूपमा देखा नपरे पनि समाजमा सामान्य रूपमा घुमिरहने बताउँछन् ।

विगत चार वर्षमा नेपालमा कोरोनाका कारण १२ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना भाइरस रोगका लागि स्थापित भइसकेकाले बेला–बेला फाट्टफुट्ट देखिने सम्भावना रहिरहेको डा. श्रेष्ठ बताउँछन् ।

‘कोरोना रुघाखोकी, हैजा वा दादुरा जस्तै गरी बसिरहन्छ । यसबारे सतर्कता अपनाउनुपर्छ’, धुलिखेल अस्पतालका प्रयोगशाला प्रमुख डा. श्रेष्ठ भन्छन्, ‘नयाँ–नयाँ भेरियन्ट आउँदा संक्रमण र त्यसबाट पर्ने गम्भीर असरबाट जोगिन खोप लगाउनुपर्छ ।’

नेपालको इतिहास हेर्दा पनि हैजा, क्षयरोग, एचआईभी, बिफर, इन्फ्लुएन्जा, दादुरा लगायत सरुवा रोग देखिएका छन्, जसले अहिले पनि फाट्टफुट्ट सताउने गरेको छ ।

विज्ञहरूका अनुसार नेपालमा साधारण रुघा–खोकीजन्य फ्लुका कारण बर्सेनि हजारौंको मृत्यु हुने गरेको छ । यस अर्थमा पनि कोरोना महामारीको अन्त्यको अनुमान गर्न नसकिने र नयाँ–नयाँ भेरियन्टको जोखिम कायम नै रहने जनस्वास्थ्यविद्को तर्क छ ।

यस्तै डा. पुनका अनुसार कोरोनाका नयाँ भेरियन्टको जोखिम सधैं रहन्छ । डा. पुन भन्छन्, ‘कोरोनासँग सतर्क रहनुपर्छ । ‘फ्लुभिड सम्भवत केही हप्ता समुदायमा निरन्तर देखिन सक्ने भएकाले आफ्नो स्वास्थ्यप्रति सजग हुने र थप फैलिनबाट रोक्न सबैको सामूहिक प्रयासको खाँचो अनिवार्य छ ।’

भाइरस परिवर्तनशील हुने गरेकाले इन्फ्लुएन्जा जस्तै कोरोनाभाइरस पनि मानव समुदायमा सधैं रहने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।

‘अहिले नै कोरोना हराएर जानेवाला छैन । इन्फ्लुएन्जा जस्तै हामीसँगै रहनेछ । प्रत्येक वर्ष केही सानोतिनो आउन सक्छ । त्यसकारण प्रत्येक वर्ष अतिरिक्त खोप लगाउनुपर्ने देखिन्छ’, डा. अधिकारी थप्छन् ।

अहिले नै कोरोना हराएर जानेवाला छैन । इन्फ्लुएन्जा जस्तै हामीसँगै रहनेछ । प्रत्येक वर्ष केही सानोतिनो आउन सक्छ । त्यसकारण प्रत्येक वर्ष अतिरिक्त खोप लगाउनुपर्ने देखिन्छ-डा. प्रभात अधिकारी, संक्रामक रोग विशेषज्ञ

विज्ञका अनुसार कोरोनाको नयाँ–नयाँ भेरियन्ट फैलिरहेका कारण बुस्टर डोज चाँडोभन्दा चाँडो पाउनु अहिलेको महत्वपूर्ण आवश्यकता हो । नेपालमा दोस्रो मात्रा खोप लगाएको पनि दुई वर्ष पार गरिसकेको छ ।

ओमिक्रोन भेरियन्टको फैलने क्षमता तीव्र रहेकोले पूर्ण खोप लगाए पनि ९ महिनापछि त्यस्ता व्यक्तिको एन्टिबडी खस्कँदै जाने भएकोले तत्काल बुस्टर डोज दिनुपर्ने विज्ञको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार पूर्ण खोप लगाउनेको संख्या ८३.६ भने बुस्टर डोज अर्थात् तेस्रो मात्रा ३५.१ प्रतिशतले मात्रै लगाएका छन् । सरुवा रोग विशेषज्ञ पुन पनि नयाँ भेरियन्टलाई रोकथामका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने र स्वास्थ्य सतर्कतालाई अवलम्बन नै गर्नुपर्ने बताउँछन् ।

फ्लू र कोभिडको लक्षण उस्तै–उस्तै हुनेभएकाले परीक्षण गराउन पनि उनले सुझाव दिए । साबुन पानीले हात धुने, मास्क लगाउने जस्ता सावधानीका उपाय अपनाउँदा कोरोनाका साथै अरू रोगका लागि पनि सुरक्षित हुने भएकाले सधैं अपनाउनुपर्ने उनले बताए ।

घरमा कसैमा फ्लु वा कोभिड लक्षणहरू देखिए वा संक्रमणको शंका लागे परिवारका अरु सदस्यमा संक्रमण सर्न नदिनका लागि एकहप्ता–दश दिन अलग्गै बस्नुपर्छ ।

‘सामान्यत संक्रमण फैलिनुमा परिवारका सक्रिय सदस्यको मुख्य भूमिका रहेको भन्दै डा. पुन भन्छन्, ‘घर बाहिर सभा, सम्मेलन, सार्वजनिक स्थान र स्थल, कार्यालय आदि ठाउँबाट फर्केपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ भने त्यस्ता ठाउँमा जाँदा सकेसम्म मास्क लगाउन छोड्नुहुँदैन ।’

Drevet av Echo RSS Plugin av CodeRevolution.