१८ वैशाख, काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुको जमानत जफत भयो ।

उपनिर्वाचनमा कमान्डरको रुपमा इलाम २ मा खटिएका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी आफ्नो पार्टीलाई अपेक्षित मत नआएको बताउँछन् । अनलाइनखबरसँग कुरा गर्दै बुर्लाकोटीले सहकारी प्रकरण, सरकारमा सहभागिता र ठूला दलबाट भएका चलेखलका कारण रास्वपाको पक्षमा धेरै भोट नआएको विश्लेषण सुनाए ।

बुर्लाकोटीसँग गरिएको संक्षिप्त कुराकानी–

चुनावी कमान्डर भएर पनि खट्नु भएको थियो । नतिजा अपेक्षित हो कि होइन ?

चुनावी नतिजा अपेक्षितचाहिँ होइन । दलहरुबाट आचार संहिताविपरीत गतिविधि भयो । हाम्रो आफ्नै पनि कमजोरी रहे होलान् ।

जस्तो ?

हाम्रो उम्मेदवार, एमालेको र पहिचानवादीको पनि लिम्बु हुँदाखेरि मत बाँडियो । हामीले अपेक्षित रुपमा खस आर्यको भोट ल्याउनका लागि खस आर्य उम्मेद्वार उठाएको भए अरु पार्टीको मत काट्नलाई अलिकति सजिलो हुने थियो होला । यस्ता चिजहरु हाम्रो आफ्नै कमजोरीभन्दा पनि यसमा ध्यान दिन सकेनौं भन्ने लाग्छ ।

चुनाव जित्नलाई संगठन कत्तिको आवश्यक रहेछ ?

चुनाव जित्नका लागि संगठन आवश्यक नै हो । जस्तो– १४ गते बेलुका एमालेले रास्वपासँग सरकारमा सँगै छौं, रास्वपाको हामीलाई समर्थन पनि छ भनेर व्यापक हल्ला फिँजायो । हामीसँग त्यो चिज चिर्ने अरु कुरा थिएन, संगठनले नै चिनुपर्थ्यो । आचारसंहिताका कारण विज्ञप्ति निकाल्न पनि मिल्दैन थियो । विज्ञप्तिले अर्को म्यासेज जान्थ्यो । त्यस्तो चिज चिर्न पनि संगठन आवश्यक छ भन्ने देखायो । दलहरुले आचारसंहिता उल्लंघन हुने गरी छताछुल्लै गरे ।

मत अपेक्षित नहुनुको कारण अरु दललाई मात्र देखाएर मिल्छ र ?

त्यतिमात्र देखाएर त मिल्दैन । अरु पनि कारणहरु छन् । जस्तो यो चुनावमा पैसा नबाँडिएको गाउँ भेटिएन । कुनै गाउँ छ कि पैसा नबाँडेको भनेर हामीले खोजेको, भेटिएन ।

कुन दलले बाँडेका ?

कांग्रेस, एमालेले बाँडेका । हामीले रिपोर्ट पनि गर्यौं, स्थानीय प्रशासनमा । गृहमन्त्री तपाईंको छ रोक्नुस् न यो भन्थे साथीहरुले । गृहमन्त्रालयबाट रोक्ने कुरा त होइन यो, यो निर्वाचन आचारसंहिताको कुरा हो । हामीले त्यो अवस्थालाई रोक्ने अवस्था रहेन । मौन अवधिमा धेरै चलखेल भयो ।

कस्तो रहेछ भने विशेष गरी एमाले बलियो भएको ठाउँमा अब चुनाव हार्ने भइयो, चुनावमा धेरै तनाव छ भन्ने भएपछि एमालेसँग अझ बढी सूत्र रहेछ, कांग्रेससँग भन्दा पनि । त्यही सूत्र उहाँहरुले लगाउनुभयो ।

चुनावको दिन गाडी राखेर मान्छे ओसार्ने काम अत्यन्त तीव्र भयो, जुन चाहिँ आचारसंहिता विपरीतको कुरा थियो । हामीले मान्छे ओसार्ने गाडी राख्न सकेनौं । यस्ता चिजहरु छन् ।

तपाईंहरुले उठाएका मुद्दा, एजेण्डाहरुलाई जनताले विश्वास पनि गरेनन् भन्ने होला होइन ?

त्यस्तो छैन । तपाईंंहरुको एजेण्डा एकदम राम्रो छ, हामी त्यसमा हामी विश्वस्त छौं नै भनिराछन् जनताले । एजेण्डा नबुझ्नेहरु हुन्छन् नि, त्यो लेभलमा भ्रम सिर्जना गर्ने काम भयो । पार्टी कार्यालयमा आएर मान्छेहरुले रास्वपाले एमालेलाई सपोर्ट गर्या छ भनेर गाउँका सबैले भने, नेता नै आएर भनेपछि हामीले त्यहीँ भोट हालिम् समेत भने ।

पछिल्लो सहकारी प्रकरणले पनि क्षति पुग्यो होला हैन ?

सहकारी प्रकरणले हामीलाई जम्प गर्नलाई थोरै गाह्रो चाहिँ भएको हो ।

सरकारमा सहभागी नभएको मत अलि बढ्थ्यो भन्ने लाग्छ ?

सरकारमा सहभागी नभएको भए हामी अलिकति बढी चर्को बोल्न पाउँथ्यौं, जनताले त चर्कै बोलेको रुचाउँछ । जुन बेलासम्म हाम्रो देश अर्को स्थितिमा पुग्दैन, त्यो बेलासम्म जनताले चर्को बोलेकै रुचाउँछ । सरकारमा गएपछि चर्को बोल्न पाइँदैन । सरकारमा यदि गएका थिएनौं भने मत बढ्थ्यो । त्यो कुरामा म सहमत छु ।

Zoyendetsedwa ndi Pulojekiti ya Echo RSS by CodeRevolution.