४ जेठ, काठमाडौं । सत्तारुढ र विपक्षी सांसदहरुबीच भएको धकेलाधकेलले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच भएको ‘सहमति उन्मुख’ वार्ता बिथोलिएको छ ।

बिहीबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरुको वेल घेराउ गरिरहेका बेला सभामुख देवराज घिमिरेले संसदलाई कार्यसूचीमा अगाडि बढाएका थिए । उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि संसदमा तनावको अवस्था सिर्जना भयो ।

गृहमन्त्रीलाई रोक्न कांग्रेस उपसभापति धनराज गुरुङ सत्ता पक्षको लहरमै पुगे भने एमाले अध्यक्ष केपी शर्मा ओलीले उठेर ‘तपाई यहाँ उभिने होइन, हट्नुस् भनेपछि मुखामुख भए । त्यसक्रममा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भयो ।

यो घटनाले कांग्रेस र रास्वपाबीच भइरहेको सम्वाद तत्कालका लागि बिथोलेको छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले अब कुनै छलफलमा नबस्ने बताएका छन् भने रास्वपा सहप्रवक्ता मनिष झाले पनि संसदीय समिति नै नबन्ने प्रतिक्रिया दिएका छन् ।

समितिको कार्यादेशसम्म पुगेको थियो सम्वाद

कांग्रेस–माओवादीसहितको गठबन्धन फेरिएर रास्वपा सभापति लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएपछि कांग्रेसले सहकारीको रकम अपचलनमा उनको संलग्नताको मुद्दा उठाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोष्ट्रममा उभिएर सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता नदेखिएको बताएपछि कांग्रेसले संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ ।

कांग्रेसले लगातार संसद अवरुद्ध गर्न थालेपछि प्रधानमन्त्री प्रचण्डले सम्वाद सुरु गरे । उनले रास्वपा सभापति लामिछाने र कांग्रेस नेताहरुसँग निरन्तर सम्वाद गरे ।

त्यसकै परिणाम, बिहीबार बिहान प्रधानमन्त्री निवास, बालुवाटारमा कांग्रेस र रास्वपा नेताहरुबीच सम्वाद भयो । रास्वपा उपसभापति स्वर्णिम वाग्ले र कांग्रेस सहमहामन्त्री जीवन परियार लगायतका नेताहरुबीचको छलफल सकारात्मक थियो ।

छलफलमा संसदीय समिति बनाउन दुबै पक्ष सहमत भए । समितिको कार्यदेश (टीओआर) के राख्ने भनेर समेत छलफल भयो । रास्वपाका उपसभापति वाग्लेले पार्टीको तर्फबाट तत्कालका लागि दुई वटा बुँदा प्रस्ताव गरे ।

  • विगत केही समयदेखि प्रमुख प्रतिपक्षी दल लगायतका सांसदहरुले उठाएका सहकारी बचतकर्ताको रकम अपचलन तथा दुरुपयोग सम्बन्धमा मौजुदा कानुनी र संस्थागत प्रयोजनको तथ्यगत विश्लेषण गर्ने ।
  • अनुचित लाभ लिने व्यक्ति, संस्था र कम्पनीबारे समेत अध्ययन गरी कानुनी कारबाहीसम्बन्धी सुझाव र सिफारिस गर्ने ।

कांग्रेस सहमहामन्त्री परियारले यो टीओआरमा आफ्नो पार्टी सहमत हुन नसक्ने जानकारी गराए । ‘रवि लामिछाने नाम उल्लेख नगरे पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री नराखेसम्म मेरो पार्टी मान्दैन’ उनले वाग्लेलाई भनेका थिए ।

स्रोतका अनुसार रास्वपा उपसभापति वाग्लेले पनि आफूहरुको प्रस्ताव पूर्ण नभएकाले छलफल गर्न सकिने बताएका थिए । बालुवाटारबाट निस्किएका सहमहामन्त्री परियारले रास्वपाको प्रस्तावबारे पार्टीका नेताहरुलाई जानकारी गराए ।

कांग्रेस नेताहरुले संसदीय समितिको नयाँ कार्यादेश बनाएर रास्वपा नेताहरुलाई पठाए ।

  • सहकारी संस्थाहरुमा देखिएको संकटको समाधानार्थ सिफारिस गर्ने ।
  • सहकारी बचतकर्ताहरुको रकम हिनामिना, दुरुपयोग, अपचालन र ठगी सम्बन्धमा मौजुदा कानुनी र संस्थाष्त प्रयोजनको तथ्यगत तथ्यगत विश्लेषण गर्दै संकटग्रस्त सहकारीका वचतकर्ताको वचत रकमको सुरक्षा गर्न र जोखिममा रहेको तथा डुवेको वचत अविलम्ब फिर्ता गर्न आवश्यक उपाय सहित सुझाव दिने ।
  • सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मी सहकारी लगायतका संस्थाबाट अनुचित लाभ लिने एवं सहकारी ऐन विपरीत कार्य गर्ने वा कार्य गर्न मद्दत पुर्‍याउने व्यक्ति र गोरखा मिडिया नेटवर्क प्रालि जस्ता कम्पनीका प्रबन्ध निर्देशक रहेका रवि लामिछाने लगायत शेयरधनी एवं सञ्चालक समेतकाबारे अध्ययन गरी कानुनी कारबाही सम्बन्धी सुझाव र सिफारिस गर्ने ।

गृहमन्त्री लामिछानेको नाम नै तोकेर कार्यादेश बनाएपछि रास्वपा नेताहरु सहमत भइहाल्ने अवस्था थिएन ।

त्यसलाई बुझेका कांग्रेस नेताहरुले अपरान्ह ४ बजेका लागि सारिएको प्रतिनिधिसभा बैठक एक दिन रोकेर सम्वाद गर्न चाहे । संसदीय दलको बैठकस्थलबाटै राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण सिटौलाले प्रधानमन्त्री प्रचण्डलाई फोन गरे ।

‘टीओआरबारे छलफल बाँकी नै रह्यो, संसद बैठक बसेर अवरोध गर्नुभन्दा सूचना टाँसेर स्थगित गरौं’ उनको प्रस्ताव थियो । संसद स्थगित भए आज र भोलि विहानदेखि छलफल गर्दा टीओआरमा सहमति खोज्न सकिने कांग्रेसको बुझाइ थियो ।

तर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले संसदमा आएर कुराकानी गर्ने बताए । त्यसबेला नै सत्तापक्षले संसदलाई मुठभेडतिर लैजान लागेको आभास आफूहरुलाई भएको कांग्रेसका एक पदाधिकारी बताउँछन् ।

आक्रोशपूर्ण प्रतिक्रिया

संसद भवन परिसरमा सम्वाद भयो, तर सहमति जुटेन । सभामुखले संसद अगाडि बढाए । कांग्रेस सांसदहरुले वेल घेराउ गरे ।

त्यसक्रममा घेराउ मात्र भएन, सभामुख देवराज घिमिरेले संसद अगाडि बढाउन खोज्दा प्रमुख सत्तारुढ घटक एमाले र प्रमुख प्रतिपक्षी कांग्रेस संसदहरुबीच धकेलाधकेल भयो ।

यो घटनापछि सत्तापक्ष र विपक्षीले एकाअर्कालाई दोष लगाउँदै आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले लगातार लचिलो हुँदा सरकारले अलमल्याउने मात्र काम गरेकाले अब छलफलमा रुचि नभएको बताएका छन् ।

‘अब हामीलाई २ जना बस्ने, ३ जना बस्नेमा रुचि रहेन’, संसद बैठकपछि उनले सञ्चारकर्मीहरुसँग भने, ‘११ बजे संसदको बैठकमा आउँछौं र के अपेक्षा गर्दछौं भने यो भन्दा पहिला सरकार संसदीय समिति बनाउने निर्णय गरेर आउँछ । त्यो भन्दा बाहेक कसैसँग छलफल गर्नु छैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहप्रवक्ता मनिष झा कांग्रेसको माग अनुसार संसदीय छानबिन समिति गठन नहुने वातावरण बनेको बताउँछन् ।

गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने र सबै सहकारीको समस्यालाई हेर्ने गरी आफूहरु संसदीय समिति गठन गर्न तयार हुँदा पनि सहमति हुन नसकेको भन्दै उनी कांग्रेसले नै वातावरण बिगारेको आरोप लगाउँछन् ।

संसद बैठकपछि पत्रकारहरुसँग उनले भनेका छन्, ‘अब समिति त्यो बेलामा मात्र बन्छ, जब कांग्रेस आफ्ना पदाधिकारीहरुको फाइल खोल्न तयार हुन्छ ।’

Impulsado nge ar Echo RSS Plugin 'Bu̲ CodeRevolution.