५ जेठ, काठमाडौं । उच्च अदालत पाटनले १३ वर्षीया नाबालिका बलात्कार गरेको आरोप लागेका व्यवसायी सुशील चटौतलाई सफाइ दिएको छ । उच्च अदालत पाटनले ‘असम्बन्धित व्यक्तिले जाहेरी दिएको’ भन्दै चटौतलाई सफाइ दिएको हो ।

न्यायाधीशहरु मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले जिल्ला अदालत ललितपुरको फैसला उल्ट्याउँदै चटौतलाई आरोपबाट सफाइ दिएको हो ।

एक सरकारी वकिलका अनुसार, फैसलाको रायकितावमा संरक्षकको अनुपस्थितिमा पीडितलाई रोहबरमा समेत नराखी जाहेरी दिएकोले आरोप पुष्टि नहुने उल्लेख छ । अर्कोतर्फ, बकपत्रमा पिडितले गरेको इन्कारी बयानलाई आधार मानेको देखिन्छ ।

जिल्ला अदालत ललितपुरले १५ चैत, २०७९ मा बलात्कारको आरोपमा दोषी ठहर गर्दै १८ वर्ष एक महिना कैद र आठ लाख क्षतिपूर्तिको फैसला गरेको थियो । चटौतमाथि आफ्नै संरक्षणमा रहेकी बालिकामाथि निरन्तर बलात्कार गरेको आरोप लागेको थियो ।

घटना सार्वजनिक भएपछि २०७८ चैतमा चटौत पक्राउ परेका थिए । मुद्दा चलेपछि चौतर्फी दबाबमा पीडितले अदालतमा इन्कारी बयान दिएकी थिइन् । पीडितलाई व्यापारी चटौतका नातेदारले गाडीमा राखेर अदालतमा बकपत्र गराउन लगेका थिए ।

घटना यस्तो हो…

नियमित विद्यालय जाने पिडित बालिका १० चैत २०७८ का दिन विद्यालयबाट घर फर्किन मानिनन् । ‘घर फर्कनु परेमा म आत्महत्या गर्छु’ भनेर उनी रोएपछि विद्यालयले बालअधिकारको क्षेत्रमा काम गर्ने सिविसमा पठाइदियो । त्यसपछि उनलाई सुशील चटौतले तीन वर्षदेखि नियमित बलात्कार गर्न थालेको खुलेको हो ।

पछिल्लो पटक २४ माघ २०७८ मा उनले बलात्कार गरेको भनी पीडित बालिकाले बताएकी थिइन् । ‘घरमा आन्टीहरु बाहिर जानुभएको थियो । बच्चाहरुलाई सुशील अंकलले तल लिभिङ रुममा ठूलो साउन्डमा टीभी लगाइदिनुभयो । त्यसपछि उहाँ मेरो कोठामा आउनु भयो र मलाई तानेर उहाँको बच्चाहरुको कोठामा लगेर …………..। मलाई अंकलले त्यसो गरेको कुरा कसैलाई पनि नभन्नु भनेमा तलाई मारिदिन्छु भन्नुभएको थियो ।’

उनको बयान अनुसार, बाबु तीर्थराज चटौती लामो समय महेन्द्रनगरलाई आधार बनाएर यातायात ढुवानी (ट्रान्सपोर्टेसन)को व्यवसाय गर्थे । हाइड्रोपावरमा समेत लगानी गरेका उनले बझाङको बुङ्गल नगरपालिकामा साईट अफिस बनाएका थिए ।त्यहाँ माली रहेका पीडितका बाबुले छोरीको पढाइको समस्या रहेको कुरा गरेपछि तीर्थराजले आफूहरुलाई घरको काम सघाउने र पीडितलाई पढाइदिने भनी छोरी लिएर आएका थिए ।

ती बालिका सुशीलको घरमा बस्ने भइन् । बालिकाले सुशीलकी गर्भवती श्रीमती र ४ वर्षको छोराको हेरचाह गर्थिन । घरमा बस्न थालेको केही समयपछि सुशीलले आफ्नो संरक्षणमा रहेकी बालिकामाथि बलात्कार सुरु गरेको अभियोगपत्रमा उल्लेख थियो ।

बलात्कारको आरोप लागेका सुशीलका बाबु तीर्थराजको पहुँच राजनीतिक तहसम्म थियो । त्यतिबेलाका राज्यमन्त्री उमेश श्रेष्ठ उनका व्यापारिक साझेदार हुन् । बझाङको जलविद्युत लगायतमा उनीहरुको व्यापारिक साझेदारी छ ।

प्रहरी तहसम्मको अनुसन्धानमा प्रत्यक्ष रुपमा राजनीतिक दबाब देखिएन । त्यसपछि भने प्रत्यक्ष रुपमा दबाब देखिन थालेको थियो ।

मुद्दा अघि बढेपछि तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खाती र उनको सचिवालयमा रहेका सहन्यायाधिवक्ता हरिप्रसाद जोशीले मुद्दा कमजोर बनाउन सरकारी वकिलको कार्यालयमा ठाडो हस्तक्षेप गरेका थिए ।

मुद्दा कमजोर बनाउन नमागेको आरोपमा तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खातीले सरकारी वकिल संगीता थोकरको सरुवा गरिदिएका थिए । जोशी केही महिनाअघि उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।

यो पनि पढ्नुस् –

पहुँचवाला बलात्कार आरोपितले राज्य संयन्त्रको यसरी गर्छन् दुरुपयोग

बलात्कार मुद्दा कमजोर बनाउन नमानेपछि सरकारी वकिलको सरुवा

ਦੁਆਰਾ ਸੰਚਾਲਿਤ ਈਕੋ ਆਰਐਸਐਸ ਪਲੱਗਇਨ ਨਾਲ ਕੋਡਰੇਵੋਲਯੂਸ਼ਨ.