७ जेठ, पोखरा । भाइबहिनी लिएर छिनेडाँडास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बगैंचामा फोटो र भिडियो खिचिरहेकी सबनम अग्रवाल मख्ख छिन् । ‘यहाँ शान्त छ, राम्रो बगैंचा पनि छ, फोटो, भिडियोमा विमानस्थलको बिल्डिङ राम्रो आउँछ, उनी भन्छिन् ।

विमानस्थलको नयाँ र आधुनिक टर्मिनल भवन टावरलाई पृष्ठभूमि बनाएर फोटो खिचाउने र टिकटक बनाउने अग्रवाल मात्रै हैनन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन र आसपासको संरचनाले धेरैजसोको ध्यान खिच्छ र मोहित हुनेहरू उभिएर फोटो/भिडियो खिचिहाल्छन्।

यो भव्य विमानस्थलको भित्रि वास्तविकता बाहिर देखिएजस्तो सुन्दर छैन । टर्मिनल भवन र यसको पछाडि ठूला अन्तर्राष्ट्रिय वायुसेवाका विमानहरु पार्किङ गर्ने स्लटहरु खाली छन् ।

आन्तरिक उडानका यात्रुहरुको आउ-जाउले नै यसको इज्जत धानेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवनको आन्तरिकतर्फको आगमन र प्रस्थानकक्षमा मानिसहरुको घुइँचो छ । विमानस्थलको आन्तरिक टर्मिनलको अगाडि पार्किङ क्षेत्रमा निजी गाडी र ट्याक्सीहरु लाइनमा छन् ।

चिल्लो टर्मिनल भवनको ठूलो भाग अन्तर्राष्ट्रिय टर्मिनलका लागि छुट्याइएको छ, जसको अघिको भाग चकमन्न छ । अन्तर्राष्ट्रिय सेवाका यात्रुको आगमन र प्रस्थान कक्षमा ढोकामा ताला ठोकिएको छ । यहाँका एक्सरे मेसिन, ट्रली र कुर्सीहरुमा धुलो जम्न थालेका छन् ।

विदेशी एयरलाइन्स कम्पनीहरुका लागि छुट्याइएको बोर्डिङ काउन्टरहरु खाली छन् । विमानस्थलभित्र काम गर्ने कर्मचारीहरु फाट्टफुट्ट देखिनेबाहेक भवनभित्र चहलपहल छैन ।

गत २६ वैशाखमा अनलाइनखबरको टोली पुग्दा विमानस्थलको व्यवस्थापन हेर्ने उड्डयन कार्यालयका अधिकांश कर्मचारी कार्यकक्षमा थिएनन् । बाहिर चउरमा टहलिरहेका एक कर्मचारीले विमानस्थल प्रमुख नवीना कर्माचार्य काठमाडौं गएको जानकारी दिए ।

यही शून्यताले यो विमानस्थल जुन आर्थिक तथा व्यावसायिक लाभको उद्देश्य राखेर करिब २८ अर्ब रुपैयाँ ऋण लिएर बनाइएको थियो, त्यो पूरा हुने भने संकेतसम्म देखिएको छैन । अझ जग्गा अधिग्रहणमा भएको करिब ८ अर्ब र प्राधिकरणले गरेको करिब २ अर्ब खर्चसहित यो विमानस्थलमा करिब ३८ अर्ब रुपैयाँ लगानी भएको अनुमान छ ।

१७ पुस २०७९ मा सन् २०२३ को नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेको डेढ वर्ष पुग्न लाग्यो । तर, अहिलेसम्म डेमोसहित सातवटा चार्टर्ड उडानबाट १८२ जना यात्रु र रुकुम पश्चिम तथा जाजरकोट भूकम्प पीडितका लागि केही सहयोग सामग्रीमात्रै पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा आएको रेकर्ड छ । यसलाई बिर्सने हो भने चीनको एक्जिम बैंकबाट महंगो ब्याजमा ऋण लिएर बनाएको यो अन्तर्राष्ट्रिय विमानस्थल ‘आन्तरिक विमानस्थल’का रुपमा मात्रै चलिरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हाल एक वर्षमा ३० करोड रुपैयाँभन्दा बढी खर्च भइरहेको छ । मर्मत र उपकरण फेर्नुपर्नेजस्ता कारणले आगामी ५ वर्षमा यस्तो लागत ३ गुणासम्म बढ्ने अनुमान छ ।

पोखरेलीलाई ‘झुटा सपना’

२०७२मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने निर्णय हुँदा पोखरामा ठूलो उत्साह थियो । २०६९ ताका पोखराका उद्योगी, व्यवसायी र स्थानीय बासिन्दाले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गर्न माग गर्दै अनसन, प्रदर्शन र आन्दोलन नै गरेर दबाब दिएका थिए । सबैजसो राजनीतिक दलले पनि पोखरेलीको आन्दोलनमा साथ दिएका थिए ।

२०६४ पछि भौगोलिक कारण देखाएर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसकिने भन्दै लागि एशियाली विकास बैंकले ऋण दिन नमानेकाले सरकार समस्यामा थियो । एडीबीको सुझाव विपरीत सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरणले चाइना सीएएमसी इन्जिनियरिङसँग पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको थियो ।

सन् २०१६ मा नेपाल सरकार र चाइना एक्जिम बैंकले विमानस्थल निर्माणका लागि २१६ मिलियन अमेरिकी डलर ऋण स्वरुप लिने र चिनियाँ कम्पनी सीएएमसीले पोखरा विमानस्थललाई ‘टर्न की प्रोजेक्ट’ को रूपमा निर्माण गर्ने सहमति भयो । सीएएमसी इन्जिनियरिङसँग उठबस गरिरहेका राजनीतिक र उड्डयन क्षेत्रको प्रशासनिक नेतृत्व तहले यो सहमति गराउन भूमिका खेलेका थिए ।

चिनियाँ ऋणमा विमानस्थल बन्ने भएपछि विमानस्थल निर्माणका चिनियाँ कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाए र ९ आवेदक कम्पनीलाई पछि पार्दै सीएएमसी इन्जिनियरिङ कम्पनी नै छनोटमा पर्‍यो ।

१ वैशाख २०७३ (१३ अप्रिल २०१६) मा सन् २०२१ को जुलाईमा निर्माण सकिने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास गरे । ढिला गरी जनवरी २०२३ मा विमानस्थल बनेर उद्घाटन त भयो, तर यसअघि चर्चा गरिएजस्तो पोखरामा भारत र चीनबाट अन्तर्राष्ट्रिय उडानको आइरो लागेन । बरु स्थानीय स्तरमा यो विमानस्थलको निर्माणमा भएको भ्रष्टाचार र यसले भोग्नुपरेको भूराजनीतिक मारको चर्चा चुलिन पुगेको छ ।

लगानी व्यवस्थापन भएर विमानस्थल निर्माण हुुँदासम्म पोखरेलीले यस्तो शून्यताको अवस्था परिकल्पना गरेका थिएनन् । पोखराले यो विमानस्थललाई आधार बनाएर ठूलो सपना बुनेको थियो । यो विमानस्थल बनेपछि पोखरा पर्यटन र विकासका नयाँ युगमा प्रवेश गर्ने अपेक्षामा अहिले तुषारापात भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि पोखरामा पर्यटन क्षेत्रमा लगानी थपिन थाल्यो । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले २५ कोठा क्षमताको आफ्नो होटल साकुरालाई विस्तार गरेर ५३ कोठाको बनाएका थिए ।

विमानस्थल निर्माण चलिरहेका बेला सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्ष घोषणा गरेर पर्यटक आगमन २० लाख पुर्‍याउने लक्ष्य राखेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र पर्यटन वर्ष घोषणाबाट उत्साहित पोखराका धेरै व्यवसायीले होटलमा लगानी बढाएका थिए । ‘आफ्नै ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि व्यवसायमा कायापलट नै हुन्छ भन्ने थियो, अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त थेगिनसक्नु पर्यटक आउँछन् भन्ने भयो’, सुवेदी भन्छन्, ‘भनेजस्तो केही भएन, २–४ वटा चार्टर्ड फ्लाइटले खासै अर्थ राख्ने कुरै भएन ।’

सुवेदीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु हुनुअघि पोखराको होटल व्यवसायमा ३ खर्ब ४५ अर्ब रुपैयाँ लगानी थियो । विमानस्थल निर्माण सँगसँगै होटल व्यवसायीले पनि धमाधम लगानी थपे, हाल होटल क्षेत्रको लगानी ५ खर्ब २५ करोड रुपैयाँ भन्दा बढी पुगेको उनी बताउँछन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्न सुरु हुनुअघि पोखराका होटलले एक दिनमा करिब २५ हजार पर्यटकलाई सेवा दिनसक्थे, व्यवसायीहरुले यस अवधिमा करिब १५ हजार कोठा थपेर ४० हजारलाई सेवा दिनसक्ने ठाउँमा पुर्‍याएका छन् ।

‘१० वटा कोठा भएका होटलले २०–२५ वटा कोठा बनाए, कसैले होटलको मर्मत गरेर सेवा स्तरीकरण गरे’, सुवेदीले भने, ‘तर, अन्तर्राष्ट्रिय उडान हुन नसक्दा तत्कालीन समयमा निःशर्त ऋण दिएका बैंकहरुको व्यवहारले अहिले व्यवसायीहरु चरम मारमा छन् ।’

पोखराका पर्यटन व्यवसायीका विभिन्न १४ छाता संस्थाहरुको नेतृत्व गर्ने पोखरा पर्यटन विकास परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर गरिएका धेरै जसो लगानी डुब्ने जोखिम रहेको बताउँछन् ।

‘केही नभएपनि दिनमा ४–५ वटा विदेशी विमान पोखरामा अवतरण गर्छ भन्ने थियो, त्यसैअनुसार यहाँ व्यवसायीले लगानी गर्नुभयो’, उनी भन्छन्, ‘भनेजस्तो भइदिएको भए पोखराको पर्यटन क्षेत्र अहिलेभन्दा धेरै चलायमान हुनसक्थ्यो ।’

अमेरिका, युरोप, मध्यएशिया र मध्यपूर्वी एशियाबाट सोझै र कनेक्टिङ उडानमार्फत पर्यटकहरू आउने अपेक्षासहित अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो । व्यवसायीहरुका अनुसार विमानस्थल सञ्चालनमा आएपछि भारत र चीनका विभिन्न शहर, दुबई, कतार, मलेसिया, साउदी अरेबिया, सिंगापुर र हङकङबाट विमानहरु पोखरा आउने चर्चा थियो ।

राजनीतिक दलका नेताहरुले पोखरामा हुने सार्वजनिक कार्यक्रमहरुमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नासाथ पोखरामा वार्षिक २० लाख भन्दा बढी विदेशी पर्यटकहरु आउने दाबी गर्थे । तर, अहिले पोखरामा अन्तर्राष्ट्रिय उडान हुनु त टाढाको कुरा नेपालमै वर्षमा १२ लाख भन्दा बढ्न सकेको छैन । त्यसमध्ये पोखरामा कति पुग्छन् भन्ने त यकिन तथ्यांक कसैसँग छैन ।

विमानस्थलको शिलान्यास गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुबै अहिले सत्तामै छन् । ४ चैत २०८० मा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा प्रधानमन्त्री प्रचण्डले छिट्टै अन्तर्राष्ट्रिय उडान गराउने भनी दिएको आश्वासनमा पोखरेली विश्वस्त छैनन् ।

पोखराको हल्लनचोकमा पदयात्रासम्बद्ध सामग्री बेच्ने पसल चलाइरहेका विकल थापा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा दूरदृष्टि नराखिएको बताउँछन् ।

नयाँ बनेको पोखरा विमानस्थलबाट निस्किने चिल्लो बाटोको चोकमा घर भएकी मैया चालिसे पोखरेलीको अपेक्षामा चिसो पानी खन्याउने काम भएको बताउँछिन् । ‘विमानस्थल बनेपछि के–के नै हुन्छ भन्ने थियो, त्यही भएर मेरो जेठो छोराले यहाँ क्याफे पनि खोलेको थियो’, उनले भनिन्, ‘अहिले बन्द गरेर काठमाडौंतिरै फर्किएको छ, हामीले विमानस्थलको हकमा चिसो पानीले नुहायौं ।’

अन्तर्राष्ट्रिय विमानस्थल भारत र चीनको अन्तरद्वन्द्वको मारमा परेको सुनाउँछन्, व्यवसायी भरत पराजुली । पोखरा विमानस्थललाई चीनले आफ्नो ‘बेल्ट रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गत राखेपछि भारतले सिधा उडान गर्न अनुमति नदिएको उनलाई जानकारी छ ।

‘अन्तर्राष्ट्रिय विमानस्थल बन्ने देखेर लगानी गरेका र थपेका व्यवसायी अहिले कठिन परिस्थितिको सामना गरिरहेका छन्’, पराजुलीले भन्छन् । यसका लागि राज्य नै जिम्मेवार भएर भूराजनीति सन्तुलन नमिलाएसम्म व्यवसायीको तहबाटमात्रै केही नहुने व्यवसायी वासु त्रिपाठीको भनाइ छ ।

ठूलो ऋण लगानीमा बनेको विमानस्थल संग्रहालयजस्तो भएको अर्की व्यवसायी सिर्जना मगरले बताइन् । ‘विदेशबाट विमान ल्याउन नसक्ने भए नाम किन अन्तर्राष्ट्रिय विमानस्थल भनेर राखेको ? यसै पनि पोखरामा आन्तरिक सेवा दिने विमानस्थल त चलिरहेकै थियो ।’

त्यतिबेला विमानस्थल बनेको कम्तीमा दुई वर्षभित्रै पर्यटकको संख्या १५ गुणाले बढाउन सकिने भनिएको थियो । तिब्बत र माल्दिभ्सको उदाहरणहरु दिंदै पोखराले वर्षमा एक करोड पर्यटक भित्र्याउन सक्ने सम्भावनालाई यथार्थमा बदल्ने आधार नै अन्तर्राष्ट्रिय विमानस्थल हुने आश्वासन बाँडिएको थियो ।

नेपाल आउने चिनियाँ पर्यटकहरुको पहिलो रोजाइमा पोखरा रहेकाले यो विमानस्थल बन्नासाथ चीनका ठूला शहरहरुबाट हुने उडानमा चिनियाँहरुको घुइँचो हुने चर्चा थियो । भारतबाट गर्मी र शीतलहर छल्न आउने भारतीय पर्यटक सोझै पोखरा झर्ने भनिएको थियो ।

विमानस्थल बन्नुअघिसम्म तेस्रो मुलुकका पर्यटकका लागि पनि पोखरा आकर्षक गन्तव्य बन्ने अनुमान थियो । विश्वकै प्रख्यात पदयात्रा मार्ग अन्नपूर्ण सर्किटको प्रवेशद्वार पोखरा भएकाले पदयात्रामा जान चाहने पर्यटक यहाँ आउने अपेक्षा थियो ।

पोखरा विमानस्थलबाट सुरुमै बंगलादेश, भुटान, श्रीलंकामा समेत नियमित उडान हुने अपेक्षा थियो । दृश्यावलोकन, पदयात्रा र प्याराग्लाइडिङका लागि चिनियाँ पर्यटक र साहसिक खेलकुद तथा धार्मिक यात्राका लागि भारतीय तथा बंगलादेशी पर्यटकहरु पोखरामा ठूलो संख्यामा आइपुग्ने चर्चा थियो ।

यिनै आधारमा विमानस्थल चल्नासाथ पोखरामा वर्षमा ६ लाखभन्दा बढी पर्यटक अन्तर्राष्ट्रिय हवाइ उडानबाट भित्रिने अनुमान सुनाइन्थ्यो । यथार्थमा कुनै पनि कुरा भने र सोचे जस्तो भएन ।

बुद्ध एयरले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनासाथ पोखरालाई आधार बनाएर भारतका बनारसविभिन्न शहरहरुमा उडान थाल्ने घोषणा नै गरेको थियो । तर, उद्घाटनको दिन बनारसबाट चार्टर्ड उडान गर्न रोकेको भारतले अहिलेसम्म बुद्धलाई बनारस, दिल्ली, देहरादूनमा उडान गर्ने अनुमति दिन मानेको छैन । यसले पोखराबाट भारतीय शहरहरुको उडानको भविष्य पनि अन्योलमा परेको प्रष्ट भएको छ ।

पोखराका मेयर आचार्य

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भारतका शहरहरुबाट उडान सञ्चालनबारे भारतीय राजदूतसँग कुराकानी गरेको र आशावादी हुन नसकेको बताउँछन् । ‘विमानस्थल भएर मात्रै भारतीय आउने हैन भन्ने उहाँहरुको जवाफ छ’, उनले भने, ‘भूराजनीतिको शिकार बन्यो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ।’

अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारलाई जग्गा दिएका स्थानीय दिवश कुँवर यति ठूलो खर्च गरेर बनेको विमानस्थलले सन्तोष नदिएको बताउँछन् ।

सुरुवात नै अन्योलपूर्ण

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले २०२६ सालतिर गरेको संक्षिप्त अध्ययनका आधारमा २०३२ सालमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहण भएको थियो । तर लामो समयसम्म बेवास्तामा परेको पोखरा विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप थेग्न न सकेको अवस्थामा पुगेको कारण देखाएर व्यावसायिक अध्ययनभन्दा राजनीतिक रुचिमा बनाउने निर्णय भएको थियो ।

विमानस्थलको आवश्यकता, औचित्य र व्यवसायिक सम्भाव्यताबारे अध्ययन गर्न सरकारले खासै चासो दिएको थिएन । ऋण सम्झौतासमेत नहुँदा ठेकेदार कम्पनी छनोट हुनुले यो परियोजना विवेकपूर्ण नभएर राजनीतिक आग्रहका आधारमा मात्रै निर्माणमा गएको प्रष्ट हुन्छ ।

उद्घाटनको १५ दिनपछि नेभिगेसन सिस्टमसमेत सञ्चालनमा नआउँदै १ माघमा यो विमानस्थलमा यती एयरको जहाज दुर्घटना भएर ७२ जनाको मृत्यु भयो ।

भैरहवाको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको तुलनामा पोखरा कम सुरक्षित रहेको तथ्य लुकेको छैन । भूगोल र विमानस्थलको अवस्थितिका कारण यहाँ करिब २२० सिट क्षमताका एयरबस ३१९, एयरबस ३२० र बोइङ ५७५ विमानहरू मात्रै अवतरण गर्न सक्छन् ।

विज्ञहरूका अनुसार, पोखरामा उड्ने मध्यम आकारका यस्ता विमानहरू ‘लोड पेनाल्टी’ राखेर मात्रै आउनुपर्छ । अर्थात् यस्ता जहाजहरूले यात्रु संख्या १५० मा झार्नुपर्छ वा हवाई इन्धनको मात्रा कम गर्नुपर्छ ।

एयरलाइन्स बिजनेसको सञ्चालन खर्च आफैंमा महँगो मानिन्छ । जति ठूला विमान उडाउन सकियो त्यति नै एयरलाइन्सहरुले नाफा कमाउन सक्छन् ।

अहिलेको अवस्थामा पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सीधा उडान थाल्न चासो नदिनु स्वभाविक भएको नेपाल नागरिक उड्डयन प्राधिकरणकै अधिकारीहरु बताउँछन् ।

उनीहरुका अनुसार क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्डमा निर्माण भएकाले पोखरा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प बन्न सक्दैन ।

नागरिक उड्डयन प्राधिरकणका सूचना अधिकारी ज्ञानेन्द्र भुल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न धेरै विमान कम्पनीले साइट भिजिट गरिसकेको बताउँछन् ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो बिजनेस आफैंले सिर्जना गर्नुपर्छ’, उनले भने, ‘हामीले जबर्जस्ती विमान कम्पनीलाई पोखरामा उडान भराउन सक्ने अवस्था छैन ।’

पोखरा विमानस्थलमा हाल गरिएको लगानीले समय क्रममा लाभ दिने अवस्था आउने उनको आशा छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सञ्चालनका लागि सरकारले गर्नुपर्ने कामहरु पनि गरेको छैन । विमानस्थल उद्घाटनको एक वर्षपछि १० मंसिर २०८० मा पोखरामा अध्यागमन कार्यालय खोलिएको थियो ।

नेपालबाट धेरै यात्रु वैदेशिक रोजगारीमा जानेहरु नै हुने कारणले श्रम गन्तव्य मुलुकमा उडान हुने वातावरण बनाउन पोखराबाटै श्रम स्वीकृति, वैदेशिक रोजगार बीमा, भिसा सेन्टर, अभिमुखीकरण कक्षादेखि म्यानपावर र टिकेटिङ कम्पनीको सुविधा दिनेतर्फ पनि सरकार अग्रसर छैन ।

यो नभएसम्म विमानस्थल सञ्चालनको आधार तयार नहुने प्राधिकरणका सूचना अधिकारी भुल बताउँछन् । ‘प्रधानमन्त्रीले नै विमानस्थल सञ्चालनका लागि आवश्यक सबै काम र तयारीहरु गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको थियो, तर काम भएन’, उनले भने, ‘सबै काम प्राधिकरणले मात्रै गर्ने होइन, हामीलाई दोष दिएर अरु उम्किन मिल्दैन ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक रूपमा सञ्चालन हुन भारतले सहज एयर रुट पनि दिनुपर्ने अवस्था समेत छ । नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट प्रवेश विन्दुसहित एयर रुट दिन भारतलाई प्रस्ताव गरेको वर्षौं भइसक्यो ।

यीमध्ये भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरको प्रस्तावित प्रवेश विन्दु नयाँ विमानस्थलमा आउने विमानका लागि सिधा मानिन्छन् । अहिले सिमराबाट मात्रै प्रवेश विन्दु दिएकाले पोखरामा उडान भर्ने विदेशी एयरलाइन्सलाई घुमाउरो बाटो भएर पोखरा पुग्नुपर्छ ।

खाडी मुलुक, टर्की र भारतको नयाँदिल्लीबाट नेपाल आउने वायुसेवा उडानको संख्या ७० प्रतिशतभन्दा बढी छ । रुट घुमाउरो र लामो भएमा त्यसले सञ्चालन लागत पनि बढाउँछ र टिकटको मूल्य बढी भएर बिजनेस पर्याप्त नहुने समस्या पनि आउँछन् । त्यसैले भारतले पश्चिमतर्फबाट नयाँ प्रवेश रुटको अनुमति दिनु पोखरा विमानस्थलका लागि अनिवार्य छ । विमानस्थल बन्नुअघि नै वा निर्माणकै क्रममा टुंगिनुपर्ने भए पनि एयर रुटको सवाल अझै अन्योलमा छ ।

विमानस्थल सञ्चालनका लागि पोखरामा सार्वजनिक यातायातलाई सहज र भरपर्दो बनाउनेदेखि पर्यटकीय गतिविधिलाई बढाउनेसम्मका ठूला प्रयासहरु पनि भएका छैनन् । विदेशी पर्यटक तान्ने योजना लिएर न सरकार प्रवर्द्धनमा जुटेको छ, न व्यवसायीहरूले त्यसमा जाँगर देखाएका छन् ।

‘विकल्प सोचौं’

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पोखरामा आन्तरिक उडानको संख्या भने केही बढेको छ । हिजोआज दैनिक ५५ देखि ६० वटा उडान–अवतरण मार्फत करिब ३५०० यात्रुले दैनिक सेवा लिइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उड्डयन कार्यालयकी प्रवक्ता जसोदा सुवेदीले जानकारी दिइन् । अहिले पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्जमा दैनिक एक–एक वटा उडान भइरहेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा राति १० बजेसम्म आन्तरिक उडान हुने गरेका छन् ।

कतिपय व्यवसायी भने विगतमा पोखराबाट दिउँसो ३ बजेपछि उडान–अवतरण नहुने गरेकामा अहिले राति १० बजेसम्म हुनुलाई सकारात्मक मान्छन् । रेस्टुरेन्ट व्यवसायीको छाता संस्था रेवानका पोखरा अध्यक्ष नरेश भट्टराई भन्छन्, ‘रातिसम्म उडान हुँदा पर्यटकहरु काठमाडौंबाट साँझ पोखरा आएर भोलिपल्ट कामका लागि फर्किनसक्ने अवस्था छ, त्यसरी दैनिक एक हजार जना मात्रै आए भने पनि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ ।’

व्यवसायीहरु पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको योजना बनाउन ढिलो गर्न नहुने बताउँछन् । ‘काठमाडौंको आकाशमा ट्राफिक जाम छ, काठमाडौंमा धेरै उडान भर्ने विदेशी एयरलाइन्सहरुलाई कम्तीमा हप्तामा ४ वटा उडान पोखराबाट गर्ने व्यवस्था गर्नुपर्छ’, पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठ भन्छन्, ‘नभए सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ, यो विमानस्थललाई सफल बनाउने कुरा सरकारकै हातमा छ ।’

पोखराका युवा व्यवसायी सौगात थापा पोखरा विमानस्थललाई तत्काल सञ्चालन गर्न नसकिए अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई पार्किङ गर्न दिनुपर्ने बताउँछन् ।

‘पार्किङका लागि विमान यहाँ राख्ने व्यवस्था गर्न सकियो भने यो विमानस्थलको व्यावसायिक सम्भावनाको ढोका खुल्दै जान्छ’, व्यवसायी थापा भन्छन्, ‘सेवाहरुमा छुट दिएर भए पनि विकल्पहरुबारे सोच्नुपर्छ ।’

विमानस्थल चल्नै गाह्रो

उद्घाटनको डेढ वर्ष अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १८२ जना अन्तर्राष्ट्रिय यात्रु उत्रिएका छन् भने यहाँबाट ४२ जना विदेश उडेका छन् । ६ असार २०८० मा चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सले फेवातालमा आयोजित ड्रागन बोटरेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहित ८४ जना चिनियाँ लिएर आएको थियो । फर्किंदा भने उनीहरु पोखरा नभई काठमाडौंबाट फर्किनु पर्‍यो ।

२२ भदौ २०८० मा भुटानबाट आएको ड्रुक एयर विमानले ३ जना यात्रु ल्यायो भने फर्किंदा ४२ जना लिएर गयो । २२ कात्तिक २०८० मा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि चीन सरकारले दिएको राहत सामग्री बोकेर दुई चिनियाँ कार्गाे जहाज पोखरा आएका थिए ।

७ मंसिरमा चीनबाट अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री रेसका लागि खेलाडी र खेल प्राविधिक सहित ९५ जना लिएर हिमालय एयरलाइन्सको जहाज पोखरा आएको थियो । २४ कात्तिक २०८० मा हिमालय एयरलाइएन्सले ३३ जना आन्तरिक यात्रु पोखरा ल्याएको थियो भने ३९ जना नेपाली यात्रु लिएर फर्केको तथ्यांक छ । यसअनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्ने कुल संख्या नै २९६ मात्रै छ ।

सञ्चालनमा आएको डेढ वर्षमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले विभिन्न शीर्षकमा ५० करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यसमध्ये करिब २ लाख ५० हजार रुपैयाँ मात्रै अन्तर्राष्ट्रिय उडानबाट कमाएको छ ।

सरकारले यो विमानस्थल बनाउन चीनको आयात–निर्यात (एक्जिम) बैंकबाट करिब साढे २८ अर्ब रुपैयाँ बराबर (२१६ करोड डलर) ऋण सम्झौता गरेको थियो । त्यसमध्ये करिब २५ प्रतिशत रकम ७ अर्ब रुपैयाँ (५४ मिलियन डलर) मा ब्याज नलाग्ने गरी सम्झौता भएको थियो । ब्याज नलाग्ने ऋणको साँवाको किस्ता भने ७ वर्षको ‘ग्रेस पिरियड’ सकिएपछि तिर्नुपर्ने भनियो । बाँकी ७५ प्रतिशत अर्थात् २१ अर्ब ४० करोड (१६२ मिलियन डलर) मा भने करिब २ प्रतिशत ब्याज तिर्नुपर्छ । सँगै त्यसको साँवा पनि तालिका अनुसार तिर्दै जानुपर्छ ।

निर्माण अवधिसहितको ७ वर्षको ग्रेस पिरियड सकिएकाले नेपालले यसै वर्षदेखि नै पोखरा विमानस्थलको ऋण तिर्न थालेको छ । र पहिलो वर्ष नै करिब ९४ करोड रुपैयाँ तिरिसकेको छ । अमेरिकी डलरमा ऋण लिएको हुनाले डलरको भाउ बढ्दा नेपालले तिर्ने किस्ता पनि बढ्दै जाने हुनाले वित्तीय भार थपिँदै जाने निश्चित छ । विमानस्थलले पर्याप्त रकम आम्दानी गर्न नसकेमा राज्य स्रोतबाटै तिर्नुपर्छ ।

अहिले पोखरामा आउने अन्तर्राष्ट्रिय विमानले ल्यान्डिङ, पार्किङ र न्याभिगेसन शुल्कमा शत प्रतिशत छुट पाउँछन् । ग्राउन्ड ह्यान्डलिङमा समेत ५० प्रतिशत छुट दिइएको छ । तर, यस्ता घोषणाले मात्रै अन्तर्राष्ट्रिय उडानका लागि एयरलाइन्सहरु आकर्षित हुन सकेका छैनन् ।

प्रतिघण्टा झन्डै ३ अन्तर्राष्ट्रिय उडानबाट ६ सय यात्रुहरुलाई सेवा दिन सक्ने क्षमता रहेको विमानस्थल सुनसान छ । २ हजार ५०० मिटरको धावनमार्ग भएको यो विमानस्थलमा न्यारोबडी विमान मात्र उडान अवतरण गर्न सक्ने भएकाले भविष्यमा पनि व्यवसायिक सफलता पाउन कठिन छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लबिङ गर्नेमध्येका एक पोखरेली व्यवसायी आनन्दराज मुल्मी आफूहरुले भनेजस्तो विमानस्थल नै नबनेको बताउँछन् । चीनबाट आएको चार्टर्ड विमानमा समेत सिट क्षमताअनुसार यात्रु नआउनुले आशंका बढाएको उनको भनाइ छ ।

‘यात्रु विमान मात्रै हैन, यहाँ चार्टड विमानसमेत क्षमताअनुसर कार्गो नलिई पोखरा आए,’ मुल्मी भन्छन्, ‘कतै यो विमानस्थल हाम्रो अपेक्षाभन्दा विपरीत त बनाइएन ! हामीले चाहेको र मागेको विमानस्थल यस्तो त हुँदै हैन ।’

तस्वीर : सरोज अधिकारी/अनलाइनखबर

Powered by the Echo RSS Plugin by CodeRevolution.