८ जेठ, काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ । बैठक आज बिहान नौ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको छ । सोमबार बस्ने भनिएको बैठक बस्न सकेको थिएन ।

गत शनिबार बसेको शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् । सदस्यहरुमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।

संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि छानबिन गर्नुपर्ने अडानमा छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत छैनन् । कार्यदलमा आइतबार पटक–पटक गरी सात घण्टाभन्दा बढी समय छलफल भए पनि सहमति जुटेको थिएन । यही विवादका कारण संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ भने संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।

नेपाली कांग्रेसले आफ्ना माग पूरा गराउन सत्ता पक्षलाई दबाब दिने उद्देश्यले मंगलबार पनि वेल घेर्दै संसद बैठकमा नाराबाजी गरेको थियो । त्यही नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए ।

Powered by the Echo RSS Plugin by CodeRevolution.