७ जेठ, दमौली । व्यास नगरपालिका कार्यालय नजिकैको टहरामा आइतबार मध्यराति भीषण आगलागी भयो । जिल्ला समन्वय समिति तनहुँको जग्गा भाडामा लिएर बनाइएको यहााँक २४ वटा टहरामा २१ जना व्यवसायीले व्यापार गरेका थिए । आगलागीले यहाँ रहेका आइसक्रिम, मोवाइल, स्टेशनरी, फलफूल र मदिरा पसल जलेका छन् ।

ब्यास नगरपालिका–४ कि राधा सिग्देलले २४ वर्षदेखि फलफूल पसल राखेकी थिइन् । यही व्यवसायबाट उनले ४ जनाको परिवारको जीविका चलाउँदै आएकी थिइन् । ‘गरिखाने आधार जलेर खरानी भयो । अब म के गरौं ?’ सिग्देलले भनिन् ।

व्यास नगरपालिका–१ का केहरसिं आलेले पनि यहीँको टहरामा मोबाइल पसल राखेका थिए । ‘हामी त अब बेरोजगार भयौं । के गर्ने अब, गरिखाने थलो नै यही थियो, त्यो पनि आगोले छिनभरमा जलाएर खरानी बनायो’, उनले दुखेसो पोखे ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहराका अनुसार आगलागीबाट करिब एक करोड ६० लाख रुपैयाँको धनमाल जलेको छ । ‘कमजोर संरचना र विद्युतीय चुवावटका कारण आगलागी भएको पाइयो । समयमा नै आगो नियन्त्रणमा आएकाले अन्य क्षेत्रमा आगो फैलन पाएन’, उनले भने ।

राति पौने १ बजे लागेको आगो तनहुँ जलविद्युत आयोजना, मुग्लिन पोखरा सडक योजना र व्यास नगरपालिकाका दमकलको सहायताले पौने ४ बजे नियन्त्रणमा लिएको एसपी बोहराले बताए । सुरुमा व्यास नगरपालिकाको दमकलले मात्र आगो निभाउन नसक्दा थप पसलहरुमा फैलिएको थियो ।

विपत् व्यवस्थापन समितिले आगलागीको घटनाको विषयलाई लिएर सोमबार साँझ दमौलीमा आयोजना गरेको सर्वदलीय बैठककमा पीडित पक्षले टहरा पुनः निर्माण गरी व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्ने माग गरेका छन् ।

आगलागी पीडित सरोकारवाला समितिका संयोजक केहर सिं आलेले आगलागी भएको ठाउँमा सरसफाइ गरी टहरा पुनः निर्माण गर्न माग गरिएको बताए ।

जिल्ला समन्वय समिति तनहँु भने टहरा पुनःनिर्माण नगर्ने तयारीमा छ । सर्वदलीय बैठकमा समन्वय प्रमुख शान्तिरमण वाग्लेले उक्त ठाउँ व्यास नगरपालिकालाई भाडामा दिने बताए । उनले भने, ‘अहिले टहराबाट उठ्ने गरेको भाडाकै दररेटमा नगरपालिकालाई सो जग्गा उपभोग गर्न दिने निर्णय भएको छ ।’

व्यास नगरपालिकाले उक्त ठाउँमा बहुउद्देश्यीय भवन निर्माण गर्नका लागि समन्वय समितिसँग उक्त जग्गा भाडा लिन खोजेको छ । नगरपालिकाले निर्माण गर्न लागेको बहुउद्देश्यीय भवनका विषयमा स्थानीय व्यवसायीहरुले विरोध गर्दै आएका छन् ।

आगलागी पीडित, स्थानीय व्यवसायी तथा विभिन्न संघ संस्थाहरुले यो आगलागी योजनावद्ध रुपमा भएको समेत आरोप लगाएका छन् ।

सर्वदलीय बैठकमा एमालेका नेता प्रतापलाल श्रेष्ठले नगरपालिकाले लिन खोजेको जग्गाका घरटहरामा आगलागी भएकाले नियोजित त होइन भन्ने प्रश्न उठाए ।

उनले भने, ‘जहाँ नगरपालिकालाई जग्गा चाहिएको छ, त्यहाँ आगलागी भएको छ । मलाई थाहा छैन तर, यो आगलागीले नगर प्रमुखको योजनालाई अगाडि बढाउन सहयोग गरेको छ ।’

नेकपा एकीकृत समाजवादीका नेता मंगलप्रसाद श्रेष्ठले नगरपालिकालाई जग्गा दिनका लागि जिल्ला समन्वय समितिले व्यवसायीहरुलाई हटाउन चाहेको र त्यहीँ आगलागी भएकाले आशंका भएको बताए ।

नेकपा माओवादी केन्द्रका नेता अतिन्द्रकेशरी न्यौपानले आगलागीको घटना कतै योजनावद्धत होइन भन्ने प्रश्न खडा भएको बताए । ‘नगरपालिकाको आँगनमै रहेका टहरामा आगलागी भएको छ, आगो नियन्त्रणका लागि पनि जिम्मेवारीपूर्ण रुपमा तत्काल काम नभएको गुनासो आएको छ । आगलागीमा पनि गरिखानेहरुको आधार जलेको छ’, उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका संयोजक विश्वनाथ बास्तोलाले विपदका घटना नियन्त्रणका लागि सरोकारावालाबीच समन्वयको अभाव देखिएको बताए । उनले भने, ‘दमौलीको मुटुमा भएको आगलागी नियन्त्रणमा देखिएको ढिलासुस्तीमा सरोकारवाला निकायबीच नै समन्वय र आवश्यक जनशक्ति परिचालनको अभाव देखियो ।’

प्रमुख जिल्ला अधिकारी जनार्दन शर्माले नगरपालिकासंग उपलब्ध दमकल सानो भएकाले आगलागी समयमै नियन्त्रणमा लिन नसक्दा क्षति बढि भएको देखिएको बताए ।

नगरप्रमुख बैकुण्ठ न्यौपानले आगलागीको घटना मध्यरातिमा भएका कारण तत्काल नियन्त्रणमा लिन नसकेको बताए । क्षतिको पूर्ण विवरण आएपछि यथोचित राहत तथा क्षतिपूर्तिको पहल गर्ने उनको भनाइ छ ।

Alimentat de Echo RSS Plugin de CodeRevolution.