२ जेठ, काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रमुख प्रतिपक्षीसँग संसद्‌मा भिड्ने संकेत गरेको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अवरोध सहेर नबस्ने र कांग्रेसका बदमासीहरुबारे कुरा उठाउने बताएका हुन् ।

सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्न माग राखेको नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समिति बनाउन सकारात्मक देखिएपछि कांग्रेसले १ जेठमा संघीय संसद्‌को संयुक्त बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध गरेन ।

तर त्यसलगत्तै बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक भने कांग्रेसले अवरोध गर्‍यो ।

अर्को बैठक बिहीवार ११ बजेका लागि बोलाइएको छ । त्यसको अघिल्लो दिन संसदीय दलको बैठक राखेर एमाले अध्यक्ष ओलीले कांग्रेसको मागअनुसार संसदीय समिति गठन नगर्ने मात्र बताएनन्, कांग्रेसको अवरोध सहेर नबस्ने चेतावनी समेत दिएका छन् ।

‘हामी चुप लागेर बसेका छौं भनेर हाम्रो बोली छैन भन्ने कांग्रेसले नबुझ्दा हुन्छ’ उनले चेतावनीको भाषामा भने, ‘संसद् अविलम्ब, भोलिबाट सुचारु हुनुपर्छ । कांग्रेसको बकवास सुनिरहन हामी तयार छैनौं ।’

बिहीवार संसद्‌मा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने उनले बताए । ‘पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ, होइन भने हामी बोल्छौं’, ओलीले सांसदहरुलाई निर्देशित गर्दै भनेका छन्, ‘कांग्रेसले चाहिं बोलिरहने, अर्कालाई आरोपित गरिरहने, अनि बकवासको प्रतिवाद पनि गर्न नपाउने ?

कहीं कतै उजुरी र जाहेरी नपरेको भन्दै ओलीले गृहमन्त्री लामिछानेको बचाउ गरे । ‘अनि कांग्रेसले पाखुरा देखाएको भरमा, मसलको राजनीति गरेको भरमा हामी लत्रिदिनुपर्ने ?’ ओलीले भने, ‘आरोपित गरेको व्यक्तिले सफाइ दिन पाउनुपर्छ । पहिलो कुरा नै त्यही हो, (रवि लामिछानेले) बोल्न पाउनुपर्छ ।’

बिहीवार गृहमन्त्री लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।

२ चैत २०८० मा पनि यो विधेयक गृहमन्त्रीले पेश गर्ने कार्यसूची थियो, तर कांग्रेसका सांसदहरुले वेल घेराउ गरेपछि लामिछाने रोष्टम उक्लिन पाएनन् । २७ चैतमा पनि संसद् कार्यसूचीमा प्रवेश नै गर्न सकेन ।

२४ वैशाखमा गृहमन्त्री लामिछानेले सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे जवाफ दिन समय माग गर्दै सभामुखलाई पत्र नै लेखेका छन् । कांग्रेसले शुक्रबार गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको पनि थियो । तर गृहमन्त्री बोलेपछि आफ्ना सांसदले बोल्न पाउनुपर्ने कांग्रेसको मागमा सत्तारुढ दलहरु सहमत नभएपछि त्यो दिन पनि संसद अवरुद्ध भयो ।

त्यही दिन बसेको दोस्रो बैठकमा सभामुखले गृहमन्त्रीलाई बोल्न समय पनि दिए, तर कांग्रेस सांसदहरुले वेल घेराउ गरेपछि लामिछाने रोष्ट्रममा जान पाएनन् । बुधबार राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव समेत पास गर्न नदिएको कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् कार्यसूचीमा प्रवेश गर्न नसक्ने बताएको छ ।

एमाले अध्यक्ष ओलीले भने कांग्रेसको यो कदमलाई सरकारबाट बाहिर जानुपर्दाको कुण्ठा मात्र भएको दाबी गरे । ‘सरकार खुस्क्यो, अनि रविलाई चिथोर्ने ?’ उनी भन्छन्, ‘रविको कमी–कमजोरी छ भने त्यो त निकायहरु छ नि कारबाही गर्न । कसैले केही कारबाही थालेको छैन कांग्रेसले आफैं सबकुछ गर्ने ? उत्तेजनामा आउने, मुख छाड्ने ?

अब कांग्रेस कराइरहने, आफूहरु सुनिरहने नहुने भन्दै ओलीले संसदमा कांग्रेसले गरेका ‘बदमासी’हरुका सम्बन्धमा कुरा उठाउने बताएका छन् । ‘संसदमा हामीले भोलिदेखि बहस गर्न पाउनुपर्छ’ सांसदहरुलाई निर्देशित गर्दै ओलीले भने, ‘हाम्रा साथीहरु ढुक्कले बहस गर्न तयार भएर जान्छौं ।’

‘कांग्रेस बोल्न पाउने, हामी बोल्न नपाउने ? कांग्रेस बोल्दा हामीले सुन्नुपर्ने ? हामी बोल्दा चाहिँ कांग्रेस कराउने कहाँ हुन्छ त्यो ? कांग्रेसलाई बोल्न दिइँदैन अब’, ओलीले भने ।

संसदमा नारा लगाउन आफूलाई मात्रै आउँछ जस्तो नगर्न पनि कांग्रेसलाई ओलीको चेतावनी छ ।

न्यायाधीशलाई पनि चेतावनी

एमाले अध्यक्ष ओलीले गिरीबन्धु टी इस्टेटको जग्गाका विषयमा सर्वोच्च अदालतले गरेको फैसलामा पनि प्रश्न उठाएका छन् । हदबन्दी भन्दा बढीको जग्गा सट्टापट्टा नहुने फैसला सुनाएको सर्वोच्चले ओली सरकारको पालामा भएको कानुन संशोधनलाई नीतिगत भ्रष्टाचार भनेको छ ।

कांग्रेसले संसदको आगामी बैठकमा यसलाई समेत मुद्दा बनाउने तयारी गरेको छ । कांग्रेस नेताहरुले जग्गा सट्टापट्टामा संलग्नमाथि कारबाहीको माग गर्न थालेका छन् ।

एमाले अध्यक्ष ओलीले भने आफ्नो पार्टी र नेताहरुमाथि आक्षेप नलगाउन चेतावनी दिए ।

‘कांग्रेसमाथि अनेक आरोपहरु छन् । फाइल धपाउँदा (फाइल पन्छाउँदा) हैरान भएको छ कांग्रेस । अनि फाल्तु कुरा गर्ने ? अनि एमालेविरुद्ध जथाभावी ?, उनले भने, ‘…कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ, त्यति भन्छु ।’

अब कांग्रेसको बकवास सुन्न तयार नभएको भन्दै उनले भने, ‘म भन्न चाहन्छु, त्यही गिरिबन्धुको ७० बिघा कसिमन खाएर दिएको, यसमा छानबिन हुनुपर्छ ।’

उनले गिरीबन्धुमा फैसला गर्नेमध्येका एक न्यायाधीश (ईश्वरप्रसाद खतिवडा)माथि पनि प्रश्न गरेका छन् ।

सर्वोच्चको आदेशअनुसार संसदबाट कानुन बनाउँदा प्रश्न गरेको तर कांग्रेसको पालामा एक पटक ५१ विघा र एक पटक १९ विघा गरी ७० विघा सट्टापट्टा गर्न दिएको बारे मौन बसेको ओलीले आरोप लगाए । उनले भने, ‘पहिले भइसकेको निर्णयमा बोल्न मिल्दैन, अनि तपाईंले लेखेको फैसलामा चाहिं गलत व्याख्या गर्न मिल्यो ?

न्यायाधीश खतिवडाले ‘गिरिबन्धु हात्ती हो, ललितानिवास छावा’ भनेर एक अन्तर्वार्तामा टिप्पणी गरेका थिए । ‘न्यायमूर्तिको कुर्सीमा बस्दा होस् वा रिटायर भएपछि …’ ओलीले खतिवडाप्रति लक्षित गर्दै भने, ‘त्यो हात्तीको दुईटा छावा बेचेको बेला श्रीमान् कहाँ हुनुहुन्थ्यो । अस्ति फैसला गर्दा यस सम्बन्धमा केके भएको छ भनेर खोज्नु पर्दैन ?

На базе Плагин Echo RSS по CodeRevolution.