१३ वैशाख, काठमाडौं । नेपालले अर्को महिना अमेरिका र वेस्टइन्डिजमा गएर टी–२० विश्वकप खेल्दैछ । त्यसको तयारीका लागि पर्सि शनिबारदेखि घरेलु मैदानमा बलियो वेस्टइन्डिज एविरुद्ध पाँच खेलको टी–२० सिरिज खेल्दैछ ।

वेष्टइण्डिज ए टिम बुधबार काठमाडौं आइसक्यो भने नेपालले बिहीबार १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कप खेलेको टोलीलाई निरन्तरता दिएर बलिङतर्फ आकाश चन्द र ब्याटिङतर्फ आरिफ शेखलाई समेटिएको छ ।

बलिङतर्फ तीव्र गतिका बलर कमल सिंह ऐरीलाई नसमेट्नु जति अस्वाभाविक छ, ब्याटिङतर्फ आरिफ शेख त्यति नै अस्वाभाविक रूपमा टोलीमा समेटिएका छन् ।

आरिफले ३० टी–२० आई इनिङमा ब्याटिङ गर्दै १०९.०७ को स्ट्राइक रेटमा ४९३ रन जोडेका छन् ।

सन् २०२२ अगष्टमा केन्या भ्रमणपछि आरिफ टी–२० टोलीबाट बाहिर थिए । गत मार्चमा टीयूमा त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्यान्डस् र नामिबियाबाट पुनरागमन गरे ।

तर नेदरल्यान्डस्‌विरुद्ध एक खेलमा ब्याटिङको पालो नआउँदा अर्कोमा खाता खोल्न सकेनन् । नामिबियाविरुद्ध २४ बलमा ४ चौकासहित ३१ रन जोडेका थिए । ३० यार्ड कटाउन संघर्ष गरेका उनको नाममा बनेको चार चौकामध्ये एउटा मिस फिल्डका कारण बनेको थियो भने अर्को टप एज लागेको थियो ।

आरिफ हङकङ टुर गए । उनले हङकङविरुद्ध २१ बलमा ४ चौका र २ छक्कासहित ३८ रन जोडेका थिए भने पपुवा न्युगिनीसँग ४ र १५ रन आउट भए ।

कमजोर प्रदर्शनका कारण ओमानमा भएको एसीसी प्रिमियर कपमा पर्न सकेका थिएनन् ।

त्यसपछि उनले आयरल्यान्ड एसँग खेले । एक दिवसीयको दुवै खेलमा शून्यमा आउट भए । आयरल्यान्ड ए सँग पहिलो टी–२० खेलमा ४९, दोस्रोमा १४ र तेस्रो खेलमा ४८ बलमा ७ चौका र ६ छक्कासहित ९३ रन बनाएका थिए ।

त्यहीं प्रदर्शनका आधारमा टोलीमा बोलाइएको छ । नेपालका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरी आरिफ चौथोदेखि सातौं नम्बरसम्म जहाँ पनि फिट हुनसक्ने बताउँछन् । जबकि यो स्थामा अवस्था अनुसार कप्तान रोहितकुमार पौडेल, सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुल्शन झा खेल्दै आएका छन् ।

टी–२० क्रिकेटमा तेस्रो नम्बरमा खेल्ने ब्याटरको भूमिका इनिङ विकास गर्ने हुन्छ, अन्यको क्लिन हिट नै हो ।

नेपाली टिममा पछिल्लो समय तेस्रो नम्बरमा रोहित आफैंले खेल्ने गरेका छन् । रोहित र आरिफ दुवै टी–२० को प्लेइङ–११ मा पर्ने कम सम्भावना रहन्छ ।

त्यसो भए आरिफलाई किन टिममा राखियो त ? भन्ने प्रश्नमा प्रमुख छनोटकर्ता चौधरीले आयरल्यान्ड ए सँग लगभग १८० को स्ट्राइकरेटमा रन बनाएको जिकिर गरे ।

एकै खेलको प्रदर्शन हेर्ने हो भने आयरल्यान्ड ए सँग ओपनर लोकेश बमले ५६ बलमा ९ चौका र ८ छक्कासहित १०६ रनको शतकीय इनिङ खेलेका थिए । लोकेश ओपनिङ, मध्यक्रम र तल्लोक्रम कुनै पनि भूमिकामा खेल्न सक्छन् । उनी पार्टटाइम विकेटकिपर पनि भएकाले ओपनर आसिफ शेखको राम्रो विकल्प हुन सक्छन् ।

लगातार तीन खेलमा शून्यमा आउट भएका कुशल भुर्तेलको विकल्प पनि हुन सक्छन् । किनकि उनले पावर प्लेको फाइदा उठाउँदै सानदार सुरुवात दिलाउन सक्छन् । तर प्रमुख खेलाडीहरूलाई निरन्तरता दिने भनेर लोकेशलाई वेष्टइण्डिज एसँग हुने सिरिजमा अवसर लिइएन । छनोटकर्ता चौधरीले भने, ‘अहिले हामी परिवर्तन दिन गर्न सक्थ्यौं, तर विश्वकप छनोटको मुखमा प्रमुख खेलाडीलाई हामी निरन्तरता दिंदै कन्फिडेन्स दिनेमा गयौं ।’

अनि ब्याटिङको ब्याकअपका रूपमा अनिलकुमार साहसँगै अरिफ शेखलाई टिममा राखिएको छ । प्रिमियर कपम ओपनर कुशल भुर्तेल लगातार तीन खेलमा डक आउट हुँदा समेत नेपालले अनिल साहको विकल्प प्रयोग गरेको थिएन ।

प्रमुख छनोटकर्ता चौधरी, आरिफले नेपालका फ्रेन्चाइ लिगहरूमा पनि राम्रो स्ट्राइक रेटमा रन बनाएको बताए ।

तर उनले कुनै पनि फ्रेन्चाइज लिगमा १३२ माथिको स्ट्राइक रेटमा रन जोड्न सकेका छैनन् । २०२१ को एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आरिफले ५ खेलमा १०७.५७ को स्ट्राइक रेटमा ७१ तथा २०२२ मा नेपाल टी–२० लिगमा ८ खेलमा ६९.२३ स्ट्राइक रेटमा ५४ रन बनाउन सकेका थिए ।

२०१६ को ईपीएलमा पञ्चकन्या तेजबाट खेल्दै ४ इनिङमा १२७.१६ को स्ट्राइक रेटमा १०३, २०१७ को ईपीएलमा भैरहवाबाट ८ खेलमा ११७.६१ को स्ट्राइक रेटमा १८७ र २०१८ को ईपीएलमा आरिफले ८ खेलमा ८०.२३ को स्ट्राइक रेटमा ६९ रन बनाएका थिए ।

धनगढी प्रिमियर लिग २०१७ देखि २०१९ सम्म तीन संस्करणमा उनले १८ खेलमा ९८.५६ को स्ट्राइक रेटमा २७५ तथा पोखरा प्रिमियर लिग २०१८/२०१९ को दुई संस्करणमा १३ खेलमा १३१.४२ को स्ट्राइक रेटमा २३० रन बनाएका थिए । २०२३ केपी ओली कप टी–२० मा २ खेल खेलेका उनले ८ रन बनाएका थिए ।

२०२२ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा ४ खेलमा ६२ बल खेल्दै १३२ रन बनाएका थिए । त्यसमा उनको स्ट्राइक रेट २१२.९० थियो । तर भदौमा वर्षाका कारण प्रतियोगिता गराउनै पर्ने हुँदा बाउन्ड्री ५० मिटरभन्दा कम थियो । एक दशकदेखि नेपाली टोलीबाट खेल्दै आएका आरिफ टी–२० भन्दा ओडीआई फम्यार्टका लागि बढी उपयुक्त ब्याटर मानिन्छ ।

तर सम्भावना बोकेका अरू ब्याटरलाई छाडेर नेपाल टिममा उनलाई नै समेटिएको छ ।

नेपालको टिममा निरन्तरता पाएका विवेक यादवको भूमिका फिनिसरको हो । तर विवेकले आफ्नो उत्कृष्ट फिनिसिङमा कुनै पनि खेल जिताउन सकेका छैनन् । गत नोभेम्बरमा ओमानविरुद्ध २४ बलमा ५ छक्कासहित ३९ रन बनाएका थिए ।

अन्तिम ओभरमा २१ रन चाहिएको अवस्थामा उनले बिलाल खानलाई तीन छक्का हानेका थिए, तर चौथो बलमा ठूलो सर्ट खेल्न खोज्दा उनी आउट भएपछि नेपाल ५ रनले पराजित भयो । विवेकले नेपालबाट हालसम्म खेलेका ११ टी–२० आईको इनिङ क्रमशः ७, , , , ३९, , , , १९, १ र ५ छ ।

उनको स्ट्राइक रेट ११२.३४ छ । त्यसका बाबजुद उनलाई निरन्तरता दिनुको कारणबारे मुख्य छनोटकर्ता चौधरी भन्छन्, ‘एउटा खेलाडी राम्रो बन्न तीन चार वर्ष लाग्छ । म्याच विनर बनाउन त्यो सेटअपमा राखेका छौं ।’

جي تعاون سان گونج آر ايس ايس پلگ ان پاران ڪوڊ جو حل.