२९ वैशाख, दमौली (तनहुँ) । तनहुँको दमौलीस्थित बुल्दीखोलामा आज आयोजित बृहत् सरसफाइ अभियानमा नेपाली सेनाको टोलीले एक हजार केजीभन्दा बढी फोहर सङ्कलन गरी प्रथम भएको छ ।

युवा अभियन्ता सुदीप गफ्फारको सक्रियतामा सञ्चालित सरसफाइ अभियानमा धेरै फोहर सङ्कलन गर्ने व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण () लाई पुरस्कृत गरियो ।

व्यास नगरपालिका–१ करङकाठदेखि व्यास नगरपालिका–३ सेतीबुल्दी दोभानसम्म भएको सरसफाइ अभियानमा सेनाले एक हजार २४ किलो फोहर सङ्कलन गरेको थियो । त्यस्तै व्यास नगरपालिका–२ स्थित पुलजीप टोल विकास संस्थाले नौ सय ४० दशमलव सात किलो फोहर सङ्कलन गरी दोस्रो स्थान हासिल गरेको छ ।

प्रथम भएको समूहलाई नगद १० हजार र दोस्रो भएको समूहलाई पाँच हजार रुपैयाँ प्रदान गरिएको छ ।

विद्यालयस्तरीय बालबालिकाबीच भएको उक्त प्रतिस्पर्धामा न्यू मनकामना बोर्डिङ स्कूल प्रथम र कन्काइ ग्लोबल एकेडेमी दोस्रो भएको छ । मनकामनाका विद्यार्थी समूहले छ सय ४५ दशमलव नौ र कन्काइका विद्यार्थी समूहले पाँच सय १६ दशमलव नौ किलो फोहर सङ्कलन गरेका थिए । उनीहरुलाई क्रमशः रु चार हजार र रु दुई हजार नगद प्रदान गरियो । त्यसक्रममा कूल ५४ समूहको सहभागिता रहेको थियो ।

बुल्दीखोला दिनप्रति दिन प्रदूषित बन्दै गएकाले सरसफाइ अभियान सञ्चालन गरिएको अभियन्ता गफ्फारले जानकारी दिए । खोला सरसफाइसँगै प्रतियोगिात्मक रुपमा सञ्चालन गरिएको यस अभियानले सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको उनको भनाइ छ ।

बृहत् सरसफाइ अभियानका लागि टोल, विद्यालय, क्याम्पस, सङ्घसंस्था लगायतबाट साथ र सहयोग पाएको उनले बताए । बुल्दीखोला स्वच्छ र सफा राख्ने उद्देश्यसहित बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको अभियन्ता गफ्फारले बताए । ‘भावी पुस्ताका लागि खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । खोलाको अवस्था देखेर सरसफाइ अभियान सञ्चालन गर्ने जमर्को गरेको हुँ’, उनले भने ।

बुल्दीखोला धार्मिक महत्वसँग जोडिएको उल्लेख गर्दै उनले भने, ‘महर्षि वेदव्यासले बुल्दीखोलामा हात धोएको धार्मिक महत्व छ । त्यसकारण पनि यसको संरक्षण गर्नुपर्छ । यहाँका ढुङ्गाढुङ्गामा देवताको बास छ ।’

गफ्फारकै नेतृत्वमा आगामी जेठ ५ गते भानु र बन्दीपुरको सिमानास्थित चुँदीखोलामा वृहत सरसफाइ अभियान सञ्चालन हुँदैछ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एउटा युवाको सक्रियतामा बुल्दीखोला बृहत् सरसफाइ अभियान हुनु खुसीको कुरा भएको बताए । उनले भने, ‘यो अभियानमा सबैको सद्भाव र सहयोग हुन राम्रो कुरा हो ।’

व्यास नगरपालिकाका पूर्वप्रवक्ता मोहनकुमार श्रेष्ठले समाज बदल्न पहिला आफू बदलिन पर्ने बताउँदै त्यसको नेतृत्व एउटा युवाले गरेकामा खुसी व्यक्त गरे ।

جي تعاون سان گونج آر ايس ايس پلگ ان پاران ڪوڊ جو حل.