७ वैशाख, काठमाडौं । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि इलाम–२ को चुनावी प्रचारमा सत्ता पक्ष र विपक्षी दलका शीर्ष नेताहरूको लर्को लागेको छ ।

पार्टीको सिंगो पंक्ति नै चुनाव केन्द्रित हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले अरूको तुलनामा धेरै नेतालाई खटाएको छ । पार्टीका शीर्ष नेता, मन्त्री, केन्द्रीय सदस्य र सांसदलाई चुनावी क्षेत्रमा खटाउनेमा रास्वपा अन्य दलको तुलनामा अगाडि देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहेक शीर्ष तहका अधिकांश नेता इलाम–२ पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ५ वैशाखमा भएको चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्केका छन् ।

पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने सभामा उपाध्यक्ष रामबहादुर थापा, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य शेरधन राई लगायत चुनावी सभामा सहभागी भएका थिए । त्यसअघि उपमहासचिव प्रदीप ज्ञवाली इलाम २ पुगेका थिए ।

एमाले र माओवादी केन्द्रको संयुक्त सभामा बोल्ने क्रममा अध्यक्ष ओलीले सुहाङ नेम्बाङ पराजित हुँदा इलामलाई घाटा पर्ने मतदातालाई बताए । ‘यहाँबाट चुनाव हार्ने हो भने सुहाङलाई होइन, इलामलाई घाटा पर्नेछ,’ बुधबारको चुनावी सभामा उनले भनेका थिए ।

एमालेले इलाम–२ को चुनावी कमाण्डर स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेलाई तोकेको छ । माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङलाई समर्थन गर्ने भनेर आफ्नो उम्मेदवार उठाएको छैन ।

नेपाली कांग्रेसले जिल्ला जाने नेताका लागि निश्चित मापदण्ड बनाएको छ । त्यसअनुसार केन्द्रीय तहबाट नेताहरूलाई परिचालन गरिएको छ । केन्द्रीय तहका नानु बाँस्तोला संयोजक रहेको सचिवालय बनाइएको छ ।

कांग्रेसमा आफूखुशी प्रचारमा जान नपाउने र जान परे केन्द्रीय सचिवालयबाट स्वीकृति लिने विधि बनाइएको छ । नेता कार्यकर्ताको क्षेत्रमा भीड जम्मा गरेर मात्रै निर्वाचन नजितिने तनहुँको उपनिर्वाचनले देखाएको कांग्रेसका नेताहरूको स्वीकारोक्ति छ ।

कांग्रेसले इलाम–२ को उपनिर्वाचनमा महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन परिचालन समितिको संयोजक बनाएको छ । महामन्त्री शर्मा उम्मेदवारी दर्तासँगै चुनावी क्षेत्रमा क्रियाशील छन् ।

महामन्त्री गगन थापा चुनावी अभियानका लागि दोस्रो पटक शुक्रबार इलाम पुगेका छन् । शुक्रबार उनी घरदैलोमा सहभागी भएका छन् । दुई महामन्त्रीले सम्बोधन गर्ने गरी कांग्रेसले शनिबार चुनावी सभा राखेको छ ।

प्रचार अभियानका क्रममा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री भीष्म आङ्देम्बे, पूर्व महामन्त्री शशांक कोइराला लगायतका नेताहरू चुनावी क्षेत्रमा पुगिसकेका छन् । कांग्रेसले अघिल्लो पटक पराजित नेता डम्बर खडकालाई उम्मेदवार बनाएको छ ।

चुनावी प्रचारका लागि सम्भवतः सबैभन्दा बढी केन्द्रीय तहका नेतालाई क्षेत्रमा पठाउनेमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी बनेको छ । रास्वपाको पदाधिकारीमा रहेका अधिकांश नेता चुनावी प्रचारमा पुगिसकेका छन् ।

रास्वपाले चार जना मन्त्रीलाई नै चुनावी प्रचारमा खटाएको छ । चुनावी प्रचारका लागि सभापति एवं गृहमन्त्री रवि लामिछाने दोस्रो पटक इलाम पुगेका छन् । शुक्रबार र शनिबार चुनावी सभामा सहभागी हुने उनी तेस्रो पटक ११ र १२ वैशाखमा निर्वाचन क्षेत्रमा जाने रास्वपा नेता शिशिर खनालले जानकारी दिए ।

शुक्रबार लामिछानेले लारुम्बा र माङमालुङमा भएका चुनावी कार्यक्रममार्फत मत मागेका छन् । लारुम्बामा भएको चुनावी कोण सभामा उनले प्रमुख प्रतिपक्ष दल कांग्रेसप्रति कटाक्ष गर्दै मत मागे ।

‘भर्खरै केही साथीहरू प्रतिपक्षमा पुग्नु भएको छ । प्रतिपक्षमा पुग्ने बित्तिकै बर्बादै भयो । सकियो । आफ्ना कैयौं चिज थाहा हुने भयो भनेर अलिअलि बर्बराउन थाल्नुभयो होला । अलिअलि गनगन गर्न थाल्नुभयो होला,’ लामिछानेले कांग्रेसप्रति टिप्पणी गरे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ ५ र ६ वैशाखमा चुनावी कार्यक्रम सकेर काठमाडौं फर्केकी छन् । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई ९ र १० वैशाखका लागि इलाम २ को प्रचारमा खटाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं रास्वपा उपसभापति डीपी अर्याल सभापति लामिछाने गएकै समय पारेर शुक्रबार इलाम गएका छन् । अर्याल चुनावी प्रचारका लागि ११ र १२ वैशाखा तेस्रो पटक जाने कार्यतालिका बनाइएको छ । २४ चैतमा उम्मेदवारी दर्ताका बेला पनि अर्याल निर्वाचन क्षेत्रमै थिए ।

उपसभापति डा. स्वर्णिम वाग्ले तेस्रो पटक चुनावी प्रचारमा जाने गरी कार्यक्रम तय गरिएको रास्वपाले जनाएको छ । चुनावी प्रचारमा मन्त्री जाँदा निर्वाचन आयोगबाट स्वीकृति लिएको खनालले जानकारी गराए । पार्टीको खर्चमा जाने गरी मन्त्रीहरूलाई चुनावी प्रचारमा पठाएको उनले बताए ।

मन्त्री, शीर्ष तहका सबै जसो नेता प्रचार अभियानमा पठाएको रास्वपाका धेरैजसो केन्द्रीय सदस्य र सांसदहरू पनि चुनावी क्षेत्रमा पुगेका छन् ।

रास्वपाले चुनावी कमाण्डर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई बनाएको छ । मतदाताको घरदैलो कार्यक्रममा उम्मेदवार मिलन लिम्बुसँग बुर्लाकोटी, सहप्रवक्ता रमेश प्रसाईं लगायतका नेताहरू छुटेका छैनन् ।

सत्तारुढ दल एकीकृत समाजवादीले आफ्नै उम्मेदवार खडा गरेको छ । एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईका पक्षमा मत माग्न पार्टीका सम्मानित नेता झलनाथ खनाल आफैं लागेका छन् । खनाल एकीकृत समाजवादीका उम्मेदवार राईका चुनावी कमाण्डर समेत हुन् ।

पहिचानवादीबाट स्वतन्त्र उम्मेदवार बनेका डकेन्द्रसिं थेगिमलाई जनता समाजवादी र नेपाल समाजवादी पार्टीले समर्थन गरेका छन् । थेगिमको चुनावी प्रचारमा धरानका मेयर हर्क साम्पाङ समेत लागेका छन् ।

Poháňané Echo RSS Plugin od CodeRevolution.