२१ वैशाख काठमाडौं । बिहीबार अवरुद्ध भएको इन्टरनेट सेवा चल्न थालेको छ ।

वर्ल्डलिंक, सुबिसु, भायानेट सहितका सेवा प्रदायकहरुले इन्टरनेट सेवा पुनर्स्थापित भएको सूचना जारी गरेका छन् । तर यो स्थायी हो वा अस्थायी समाधान हो भन्ने उनीहरुले खुलाएका छैनन् ।

विहीबार दिउँसोदेखि अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रदायकले इन्टरनेट सेवा बन्द गरिदिएका थिए । त्यसबाट सेवाग्राहीहरु मर्कामा परेका थिए । वर्ल्ड लिंक नेपालका सीईओ केशव नेपालले इन्टरनेट सेवा अवरुद्ध नगर्न आग्रह गर्दै पत्र पठाएपछि सेवा पुनर्स्थापित भएको जानकारी दिए ।

विहीबार बेलुका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरी नियमानुसार शुल्क तथा रोयल्टी बुझाउन र इन्टरनेट जस्तो अत्यावश्यक सेवा अवरुद्ध नगर्न अनुरोध गरेको थियो । मन्त्रालयले कानुनी व्यवस्था सम्झाउँदै उक्त अनुरोध गरेको केही घण्टापछि नै इन्टरनेट चल्न थालेको थियो ।

नेपालमा प्रमुख ब्याण्डविथ प्रदायकले एयरटेल, टाटा, रिलायन्स लगायत कम्पनीबाट ब्याण्डविथ आयात गर्दछन् र नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउँछन् । नेपालमा इन्टरनेट सेवा प्रदायक कतिपय कम्पनीहरुले सरकारलाई सेवा शुल्क र रोयल्टी वापतको रकम बुझाएका छैनन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरुजु बक्यौता नतिरेको भन्दै तिर्न ताकेता गरिरहेको छ । तर, इन्टरनेट सेवा प्रदायकहरूले मर्मत सम्भार दूरसञ्चार सेवा अन्तर्गत नपर्ने अडान राख्दै आएका छन् । उनीहरूले दूरसञ्‍चार प्राधिकरणले मर्मत सम्भारबाट लिएको शुल्क बाहेकको आम्दानीबाट रोयल्टी र आरटीडीएफ (ग्रामीण दूरसञ्चार विकास कोष) दस्तुर मात्र बुझाउँदै आएका छन् ।

सरकार र इन्टरनेट सेवा प्रदायकबीचको यही विवादका कारण अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रदायकले भुक्तानी पाएका छैनन् । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेलबाट लिएको ब्याण्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको र जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने बताउँदै आएका थिए ।

विहीबार अपराह्न करिब चार बजेतिर नेपालभर इन्टरनेट सेवा प्रभावित भएपछि गएराति नेपाल दुरसञ्चार प्राधिकरणका कर्मचारीहरु भायानेट लगायतको कार्यालयमा पुगेर त्यसको कारणबारे सोधपुछ गरेका थिए । उनीहरुले यतैबाट इन्टरनेट काटिएको हो कि विदेशबाटै हो भन्नेबारे जिज्ञासा राखेका थिए ।

Poganja Vtičnik za odmev RSS avtor CodeRevolution.