२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण राष्ट्रपतिप्रति संघीय संसदबाट धन्यवाद प्रस्ताव पारित नभएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

छलफलका लागि सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । संसदको कार्यसूचीमा राष्ट्रपतिलाई धन्यावाद दिने कार्यसूची पनि थियो । तर सहकारीको रकम हिनामिनामा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समितिको माग राख्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वेल घेराउ र नाराबाजी गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुन सकेको थिएन ।

यो विषयलाई सभामुखले गम्भीरतापूर्वक लिएको उनको सचिवालयले जनाएको छ । कम्तिमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न सभामुख घिमिरेले मंगलबारको कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरुसँगको बैठकमा ध्यानाकर्षण गराएका थिए ।

Inowanikwa ne Echo RSS Plugin by CodeRevolution.