१६ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल तिर्न स्थानीय तहलाई ताकेता गरेको छ । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी महसुल भुक्तानी गर्न भनेको हो ।

विनामिटर सडक बत्ती बालिरहेकाहरुलाई रितपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गर्न र हालसम्म प्रयोग गरिएको बत्तीको बक्यौता महसुल तिर्न प्राधिकरणले आग्रह गरेको छ । आवश्यक परे किस्ताबन्दीको सुविधा माग गरी बक्यौता महसुल भुक्तानी गर्न पनि प्राधिकरणले भनेको छ ।

सडकबत्तीको ग्राहक नबन्ने, बक्यौता महसुल समर्थन नगर्ने, महसुल नतिर्ने र विनामिटर अनधिकृत तवरबाट सडक बत्ती जडान गर्नेहरुको लाइन जुनसुकै बेला काट्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।

प्राधिकरणका अनुसार स्थानीय तहहरुले सडक बत्ती प्रयोग गरेबाफत करिब ६ अर्बभन्दा बढी बक्यौता छ । गत असार महिनामा अर्थ मन्त्रालयले सडक बत्तीको बक्यौता महसुल सम्बन्धित पालिकाहरुबाट असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो ।

तर सडक बत्तीको महसुलको विषयमा प्राधिकरण र स्थानीय तहबीच लामो समयदेखि विवाद हुँदै आएको छ । विराटनगर महानगरपालिकालाई प्राधिकरणले सडकबत्तीको बक्यौता तिर्न भन्दा महानगरपालिकाले उल्टै प्राधिकरणलाई पत्र लेखेर सम्पत्ति कर र बिजुलीको पोलको भाडा माग गरेको थियो ।

E tsamaisoa ke Plug ea Echo RSS by CodeRevolution.