४ जेठ, काठमाडौं । बिहीबार प्रतिनिधि सभा बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको छ । यसले सहमतिका लागि भइरहेको सम्वाद बिथालेको छ भने संसदको गतिरोध तत्काल नहट्ने संकेत देखिएको छ ।

सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्नबारे छानबिनका लागि संसदीय समिति गठनबारे भएको वार्ता सहमतिमा पुग्न नसकेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबार पनि वेल घेराउ गर्‍यो ।

यसअघिका बैठकमा झैं कांग्रेस सांसदहरुले नाराबाजी गरे । सभामुख घिमिरेले पनि गर्नैपर्ने कामहरु बाँकी रहेको भन्दै सांसदहरुलाई आफ्नो स्थानमा बस्न आग्रह गरे ।

अघिल्ला बैठकमा अरुमा यसरी आग्रह गर्दा नाराबाजी नरोकेपछि बैठक स्थगित हुन्थ्यो । बिहीबार सभामुखले नाराबाजीका बीच संसदको कारबाही अगाडि बढाए । विपक्षी बेञ्चमा रहेका राप्रपा र लोसपाका सांसदहरु उठेर विरोध गरे, तर रोकिएनन् । उनले विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।

वेलमा रहेका कांग्रेस सांसदहरुले सभामुखतर्फ प्रश्न गर्दै चर्को नाराबाजी गरे । सभामुख पनि चर्को स्वरमै राष्ट्रपति कार्यालयबाट आएको अर्को पत्र सुनिने गरी वाचन गर्न थाले । कांग्रेस सांसदहरुले चर्को नाराबाजी गरेपछि केहीबेर रोकिए ।

सभामुख फेरि अगाडि बढे । उनले राष्ट्रपति कार्यालयबाट प्राप्त भएको मन्त्रिपरिषद हेरफेरसम्बन्धी पत्र वाचन गरे । लगत्तै उपप्रधानमन्त्री तथा गृहमन्त्रीले बोल्न समय मागेको र बोल्न दिनुपर्छ भन्ने आवाज उठेको भन्दै समय दिए ।

सभामुखले समय दिइसक्दा नसक्दै कांग्रेस सांसदहरु गृहमन्त्रीलाई रोक्न लागे भने सत्तारुढ सांसदहरु आ–आफ्नो स्थानमा उभिएर बोल्न दिनुपर्छ भनेर हुटिङ गरे ।

यसले संसदमा तनाव बढायो । गृहमन्त्रीलाई छेक्न कांग्रेसका सांसद धनराज गुरुङ सत्तापक्षको बेन्च नजिक पुगे । ‘संसदीय छानबिन समिति गठन गर’ भनेर नारा लगाइरहे । छेउमा रहोक एमाले अध्यक्ष केपी शर्मा ओली पनि आफ्नो सिटबाट उठेर ‘तपाईं यहाँ उभिने होइन, हट्नुस्’ धनराजतर्फ अघि सरे ।

कांग्रेस उपसभापति गुरुङले पनि ओलीतिर फर्किएर चर्को स्वरमा नारा लगाइरहे । ‘उहाँले ‘तपाईं यहाँ उभिने होइन, हट्नुस्’ भन्नुभयो । मैले उहाँको प्रतिवाद गरिनँ, नाराबाजी भने गरिरहेँ’, गुरुङले अनलाइनखबरसँग भने ।

ओली र गुरुङ मुखामुख भएपछि कांग्रेस र एमाले वेलमै आमुन्नेसामुन्ने भए । एमाले सांसदहरु कांग्रेस सांसदहरुलाई धकेल्दै गृहमन्त्री लामिछानेलाई रोष्ट्रम जाने बाटो खाली गराउन खोज्दै थिए । कांग्रेस सांसदहरु गृहमन्त्री लामिछानेलाई बाटो नदिन लागे । त्यसक्रममा दुवै दलका सांसदहरुबीच धकेलाधकेल भयो ।

सत्तारुढ र विपक्षी सांसदहरुबीच धकेलाधकेल हुँदा सभामुखले गृहमन्त्रीलाई बस्न आग्रह गरे । अनि कार्यसूचीमा रहेका सबै विषय हटाएर संसद बैठक स्थगित गरे ।

कांग्रेस महामन्त्री गगन थापा सभामुखकै कारण बिहीबार प्रतिनिधि सभाको दृश्य अनपेक्षित हुन पुगेको बताउँछन् । ‘आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो यसको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ’ थापा भन्छन्, ‘सदनमा जबरजस्ती बैठकलाई कार्यसूचीमा प्रवेश गराएपछि भएको एक प्रकारको अप्रिय, अनपेक्षित स्थिति सिर्जना गर्ने कामको मूल जिम्मेवारी सभामुखले लिनुपर्छ ।’

उनका अनुसार सहमतिको प्रयास भइरहेकाले बिहीबारको प्रतिनिधिसभा बैठक नै स्थगित गर्न कांग्रेसले आग्रह गरेको थियो । तर सभामुखले घिमिरेले एउटा पार्टीको आदेश पालकको रुपमा देखिएको उनको गम्भीर आरोप छ ।

एमाले अध्यक्ष ओलीले बुधबार कांग्रेसको अवरोधका बाबजुद संसद चल्छ भनेको स्मरण गर्दै उनले भनले भने, ‘सम्माननीय सभामुख एउटा पार्टीको नेताको आदेश पालकको रुपमा उहाँको भूमिका यसरी रहने कुरा हाम्रा लागि दुःखको विषय हो ।’

त्यसपछि एमाले अध्यक्ष ओलीले वातावरणलाई बिगार्ने प्रयास गरेको उनको आरोप छ । नाराबाजी गरिरहेका कांग्रेस उपसभापति धनराज गुरुङलाई एमाले अध्यक्ष ओलीले हप्काउन खोजेको भन्दै उनले भने, ‘सत्तापक्षको प्रमुख दलको प्रमुख नेताले जसरी त्यहाँभित्र वातावरण बिगार्ने प्रयास गर्नुभयो, एउटा अप्रिय स्थिति सिर्जना होस् भन्ने खालको पर्यास गर्नुभयो । यो आफैंमा खेदजन्य छ ।’

‘एमाले सांसदहरुलाई हप्काउने, उठबस गराउने अधिकार उहाँले राख्नुहुन्छ होला । उहाँका सम्बन्ध पनि त्यस्तै होला । तर कांंग्रेस पार्टीका बारेमा त्यो नसोच्नुहोला । कांग्रेस सांसदका बारेमा त्यो नसोच्नुहोला । हामी तपाईंका कार्यकर्ता होइनौं ।’

सत्तारुढ नेताहरु भने कांग्रेस उपसभापति गुरुङ सत्ता पक्षको लहरमा जानु गलत भएको बताउँछन् । कांग्रेस सांसद गुरुङले उपसभामुखको कुर्सी अगाडि आएर असंसदीय व्यवहार गरेको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘हाम्रा संसदीय दलका नेतामाथि अपमानजक व्यवहार गर्नुभयो । आगामी दिनमा यस्ता असंसदीय गतिविधि नगर्न कांग्रेसलाई सचेत गर्न चाहन्छु ।’

माओवादी सांसद माधव सापकोटा पनि यसमा कांग्रेसले माफी माग्नुपर्ने बताउँछन् । ‘मर्यादालाई भुलेर जे गर्नुभयो, त्यो राम्रो भएन’ संसद बैठकपछि उनले सञ्चारकर्मीहरुसँग भने, ‘कांग्रेसका सिनियर नेताहरुबाट जे क्रियाकलाप भयो, यसमा क्षमा मागेर आइन्दा संसदलाई शोभनीय बनाउँछौं भनेर कमिटमेन्ट गर्नुपर्छ ।’

पूर्वमन्त्री समेत रहेका कांग्रेस उपसभापति गुरुङ भने आफू कोरिडोरसम्म मात्र पुगेको दाबी गर्छन् । ‘म सत्ता पक्षको रोमा गएको छैन, जान पनि मिल्दैन’ उनले भने ।

மூலம் இயக்கப்படுகிறது எதிரொலி RSS செருகுநிரல் வழங்கியவர் கோட்ரெவல்யூஷன்.