६ जेठ, काठमाडौं । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन नबुझाएका कारण पाँच तारे होटलको मान्यता नपाएको द एभरेस्ट होटलले ईआईए रिपोर्ट बुझाएको छ ।

वन तथा वातावरण मन्त्रालयमा बुझाइएको रिर्पोट मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा २०३८ सालदेखि सञ्चालनमा आएको यो होटलले ईआईए रिपोर्ट नबुझाएका कारण पर्यटन विभागको पाँच तारे होटलको सूचीमा अटाउन सकेको थिएन ।

यो होटल २०४२ सालदेखि पाँच तारे मान्यता प्राप्त थियो । २०७२ सालको भूकम्पले यो होटलको भवनमा धेरै क्षति गरेको थियो । त्यसपछि होटल बन्द भयो । मर्मतपछि १२ असोज २०७६ देखि एभरेस्ट होटल पुनः सञ्चालनमा आएको थियो । प्रतिवेदन अनुसार एभरेस्टले थप संरचना बनाउने कुनै योजना बनाएको छैन ।

यो होटल सञ्चालनमा आएको समयमा वातावरणीय अध्ययन गर्नुपर्ने प्रावधान थिएन । २०५३ सालमा भने वातावरण संरक्षण ऐन लागु भयो । जसले १ सय शय्याभन्दा बढी क्षमताका होटल र रिसोर्टलाई वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गरियो । तर, २०५३ सालभन्दा पहिला नै सञ्चालनमा आएका संरचनालाई अनिवार्य थिएन । पर्यटन विभागले १० फागुन २०७४ मा सूचना प्रकाशित गर्दै अब नयाँ तथा पुराना सबै होटलका लागि ईआईए अनिवार्य गरियो । त्यसपछि भने पुराना होटलहरूले समेत ईआईए गर्नु परेको हो ।

एउटा भवन रहेको एभरेस्टमा १६० कोठा र २५२ वटा शय्या छन् । कुल १३ रोपनी ७ आना क्षेत्रफलमा फैलिएको यो होटलले प्रतिदिन २ लाख ७५ हजार लिटर भूमिगत पानी प्रयोग गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । नियम अनुसार दैनिक २० हजार लिटरभन्दा बढी भूमिगत पानी प्रयोग गर्ने भवन निर्माण र सञ्चालन गर्दा ईआईए गर्नुपर्छ ।

एक वर्षमा करिब १० हजार पाहुँना, धेरै भारतीय

होटल एभरेस्टमा एक वर्षमा करिब १० हजार पाहुनाले सेवा लिएको पाइएको छ । प्रतिवेदन अनुसार सन् २०२३ मा यो होटलमा ९ हजार ९७३ जनाले सेवा लिएका थिए । जसमध्ये ४१ प्रतिशत भारतीय थिए । २० प्रतिशत नेपाली र ३९ प्रतिशत तेस्रो मुलुकका रहेको पाइएको छ । सन् २०२१ को तुलनामा क्रमशः पाहुना बढ्दै गएको समेत देखिएको छ । यस होटलले १५६ जनालाई रोजगारी दिएको पाइएको छ ।

ద్వారా ఆధారితం ఎకో RSS ప్లగిన్ ద్వారా కోడ్ రివల్యూషన్.