४ जेठ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका—९, मनमैजुमा एक जना प्रहरी जवान मृत फेला परेका छन् ।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत् प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा फेला परेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘स्थानीयले खबर गरेपछि अनुसन्धानमा टोली परिचालन गरेका छौं ।’

बिहीबार ड्यूटी सकेर निस्किएका उनी त्यसपछि कार्यालयमा फर्किएका थिएनन् । अपराह्न मृत भेटिएको खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थलमा पुगेको छ ।

घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतका अनुसार, निर्माणाधीनको घरको तल उनी मृत अवस्थामा भेटिएका हुन् । शव भेटिएलगत्तै प्रहरीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा लगिएको छ ।

‘प्रारम्भिक जाँच गरेर शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी छ’, एसएसपी थापाले भने, ‘घटनाका अन्य पाटाबारे अनुसन्धान भइरहेको छ ।’

खोटाङ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए । मनमैजुसम्म उनी कसरी पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Аз ҷониби Эхо RSS Plugin аз ҷониби CodeRevolution.