१६ वैशाख, काठमाडौं । प्रहरीले वीरगञ्जमा गोली चलाएको छ । घटनामा काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपी घाइते भएका छन् ।

घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान छन् । उनको साथबाट प्रहरीले लागूऔषध समेत बरामद गरेको छ ।

पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्साका एसपी कुमोध ढुंगेल बताउँछन् । त्यसक्रममा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको ढुंगेलले बताए ।

प्रहरीका अनुसार, पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन् । ३ असोज २०७९ मा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली हालेर मोहम्मद मारिएका थिए । उनी मारिएपछि भारतीय सञ्चारमाध्यमहरुमा मोहम्मदलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग जोडेर प्रचार गरिएको थियो ।

नेपाल प्रहरीसँग मोहम्मदबारे भारतीय पक्षले चासो राख्दै आएको थियो ।

आफ्नो मुलुकविरुद्ध गतिविधि गर्दै आएको आरोप लागेका व्यक्तिहरुलाई भारतले छिमेकी मुलुकमा पेशेवर अपराधी वा विभिन्न व्यक्तिलार्ई प्रयोग गरेर हत्या गर्ने गरेको आरोप लाग्दै आएको छ । गोठाटारमा मोहम्मदको हत्या पनि त्यसैको श्रृंखला हुनसक्ने सुरक्षा सम्बद्ध स्रोतको भनाइ छ ।

Tere na te Echo RSS Plugin na CodeRevolution.