६० देखि ६५ प्रतिशत महिलाले गर्भावस्थामा अधिक योनीस्रावको अनुभव गर्छन् । यसरी योनीस्राव अधिक हुँदा कतिपय महिला चिन्तित हुन्छन् । त्यसमा पनि योनीबाट दुर्गन्धित तरल पदार्थ आउँदा उनीहरु आत्तिन सक्छन् । यस्तोमा कति महिलालाई योनीस्राव कति सामान्य हो कि असामान्य भन्ने जिज्ञासा हुनसक्छ ।

योनीस्रावबारे यस्तै पाँच जिज्ञासा अनलाइनखबरले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुनिता व्यञ्जनकारलाई राखेको छ ।

के हो योनीस्राव ?

योनीबाट बग्ने तरल पदार्थलाई योनीस्राव भनिन्छ, जसले योनीलाई सफा राख्छ । बाह्य जीवाणुको संक्रमणबाट बचाउँछ ।

योनीस्राव महिलाको शारीरिक अवस्थाअनुसार परिवर्तन हुन्छ । जस्तै, महिनावारी चक्र र गर्भावस्थामा फरक किसिमको स्राव हुनसक्छ । जुन व्यक्तिअनुसार पनि फरक-फरक हुन्छ । कसैमा बढी हुनसक्छ, कसैमा कम ।

गर्भावस्थामा योनीस्राव कति सामान्य ?

गर्भावस्थामा प्रोस्टेरोजेन हार्मोनको स्तर उच्च हुन्छ । जसकारण योनीश्राव हुनु अलि बढी हुनु सामान्य हो । योनीश्रावले योनीमा संक्रमण हुन दिंदैन । यस्ता श्रावले योनीको सुरक्षा गर्छ ।

हल्का गन्धसहितको पातलो र हेर्दा दूधे सेतो तरल पदार्थ गर्भावस्थाको सुरुवातमा देखिन्छ ।

गर्भावस्थाको अन्तिम सातामा योनीस्राव बढ्न पनि सक्छ । सो समयमा बाक्लो र गुलाबी खालको तरलता देख्न सकिन्छ । जुन क्रमशः बढ्दै जान्छ । र, गर्भावस्थाभरि जारी रहन्छ । यो बच्चा जन्मिने तयार अवस्थामा छ भन्ने लक्षण हो, जुन व्यथा लाग्नुअघि देखिन्छ । यी गर्भावस्थामा हुने योनीस्रावलाई ‘ल्युकोरिया’ भनिन्छ । यो हेर्दा सफा र सेतो देखिन्छ । र, गन्धहीन हुन्छ । जुन हानिकारक मानिंदैन । यो सामान्य हो ।

तर केही अवस्थामा भने असामान्य खालका योनीस्राव हुनसक्छ । यदि हरियो, खैरो रङ, अत्याधिक गन्ध, चीज जस्तो जमेको र तरला भरिएको हुन्छ । यस्तो योनीस्राव बग्दा योनी वरिपरि चिलाउने र दुख्ने पनि हुनसक्छ ।

योनीमा ल्याक्टोब्यासिल्लास जस्ता फाइदाजनक ब्याक्टेरिया हुन्छन् । यी ब्याक्टेरियाको सन्तुलन बिग्रिएपछि खराब ब्याक्टेरियाले ठाउँ लिन्छ । र, असामान्य खालको योनीस्राव हुनसक्छ । यौनाङ्ग संक्रमण र कुनै औषधिको प्रयोग पनि यसको कारण हुनसक्छ ।

असामान्य योनीस्रावको लक्षण के-कस्ता हुनसक्छन् ? जटिलताको सम्भावना कति हुन्छ ?

अचानक योनीस्राव अधिक भयो । र, रंग फरक-फरक देखिएमा चिकित्सकलाई देखाइहाल्नुपर्छ । लगातार पानी जस्तो तरलता भएको स्राव बगिरहेको छ भने प्रसवअघि नै व्यथा लागेको बुझ्नुपर्छ ।

यदि ‘भजाइनल थ्रस’ र ब्याक्टेरियल भजाइनासिस गरी दुई संक्रमण देखिएमा पनि असामान्य योनीस्राव हुनसक्छ ।

भजाइनल थ्रस फंगल इन्फेक्सन (ढुसी) को कारण हुनसक्छ, जुन हेर्दा दही जस्तो बाक्लो र सेतो हुन्छ । जसले योनी चिलाउने र दुख्ने हुन्छ । तर यसले गर्भेशिशुलाई भने कुनै हानि गर्दैन ।

त्यस्तै, ब्याक्टेरियल भजाइनोसिस यौनाङ्ग वरपर सूक्ष्म जीवहरुको असन्तुलनका कारणले योनीमा संक्रमण गराउँछ । संक्रमित हुँदा खरानी वा हरियो रङको श्राव देखिन्छ । जुन माछा जस्तो गन्हाउँछ । यस्तो स्राव हुँदा चिलाउने र असहज महसुस हुन्छ । जसले समय अगावै व्यथा लाग्न सक्छ ।

ब्याक्टेरियल भजाइनोसिसले यौनजन्य संक्रमण एचआईभी एड्स, ट्राइकोमोनास भेजिनालिस र भजाइनल क्यान्डियसिस जस्ता संक्रमणको जोखिम बढाँउछ ।

भजाइनल क्यान्डियसिस गर्भावस्थामा देखिने संक्रमण हो, जुन क्यान्डिडा प्रजातिको विकास अत्याधिक मात्रामा हुँदा हुनसक्छ । कडा खालको एन्टिबायोटिक औषधिको उपचार गराएकी गर्भवती, एचआईभी/एड्स, मधुमेह र प्रतिरोधात्मक क्षमता कम भएकी गर्भवती महिलामा यसको संक्रमणको जोखिम उच्च हुन्छ ।

भजाइनल क्यान्डियसिस भएमा योनीबाट स्राव मात्र नभई योनीमार्गमा पीडा हुने र चिलाउने लक्षण देखिन्छ । साथै, यसकै कारण गर्भ खेर जाने, कम तौलको शिशु जन्मिने र समयपूर्व जन्मिने जस्ता जटिलता देखिनसक्छ ।

गर्भावस्थामा रगत मिश्रित स्राव वा रक्तस्राव हुनु कतिको जटिल समस्या हो ?

प्रत्येक तीन महिलामा एक जनाले गर्भावस्थाको पहिलो त्रैमासिकमा हल्का रक्तस्राव अनुभव गर्छन्, जुन सामान्य हो । कतिपयले त्यो अवधिभन्दा पछि पनि स्रावको अनुभव गर्छन् भने पक्कै चुप लागेर बस्नु हुँदैन ।

पहिलो त्रैमासिकपछि पनि रक्तस्राव भइरहन्छ । र, अत्याधिक हुन्छ भने तत्काल अस्पताल जानुपर्ने हुन्छ । किनकि अत्याधिक रक्तस्राव गर्भ तुहिनुको संकेत हुनसक्छ ।

त्यस्तै, सालले पाठेघरको मुखनेरको सम्पूर्ण भाग ढाकेमा पनि रक्तस्राव हुनसक्छ । २० सातापछि यस्तो समस्या देखिनसक्छ । जुन त्यति दुर्लभ होइन । यसरी सालले पाठेघरको तल्लो भाग ढाक्दा आमा र शिशु दुवैको लागि जोखिम हुन जान्छ । साथै, ३७ साताभन्दा अघि अत्याधिक पेट दुखाइका साथै रक्तस्राव भइरहेको छ भने समयअगावै बच्चा जन्मिन सक्छ ।

गर्भावस्थामा रक्तस्राव कसरी रोक्ने ?

गर्भावस्थामा कुनै पनि प्रकारको रक्तस्राव रोक्न नसकिने भएपनि नियमित रक्त परीक्षण गराउनुपर्छ । यसले शरीरमा रगतको मात्रा र गर्भावस्थामा रगत चढाउनुपर्ने, नपर्ने पत्ता लगाउन मद्दत गर्न सक्छ । र, यसरी समय-समयमा रगत परीक्षण गर्दा सामान्य समस्या मात्र हो वा रक्तस्रावको कुनै सम्भावना छ भनेर पहिचान गर्न सक्छ ।

-योनीमा संक्रमण भए चिकित्सकले गर्भावस्थालाई मध्यनजर राखेर एन्टिबायोटिक वा अन्य औषधिहरू सिफारिस गर्न सक्छन् । यी औषधिले संक्रमण फैलिनबाट रोक्छ । र, असामान्य योनीस्राव कम गर्दै लैजान्छ ।

-गर्भावस्थामा ट्याम्पोन प्रयोग गर्नुहुँदैन ।

-डिस्चार्ज सोस्ने पेन्टी लाइनर लगाउनुपर्छ ।

-योनीलाई सुक्खा राख्नुपर्छ ।

-पिसाब वा दिसा गरेपछि प्रजनन् अंगको क्षेत्रलाई अगाडि देखि पछाडि पुछ्नुपर्छ ।

-कसिलो जिन्स र नाइनलको पेन्टी लगाउनुको साटो सुतीको प्रयोग गर्नुपर्छ ।

-गर्भावस्थामा उपभोग गर्न सुरक्षित हुने प्रोबायोटिक खानेकुरा र परिपूरक खानाहरू सेवन गर्नुपर्छ । जसले योनीमा ब्याक्टेरियाको सन्तुलन बिग्रिनबाट रोक्छ ।

Tere na te Echo RSS Plugin na CodeRevolution.