१८ वैशाख, सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मंगलबार दोस्रो पटक सरकार विस्तार गरेका छन् । लामो रस्साकस्सीपछि उनले सामाजिक विकास मन्त्रालय माओवादी केन्द्रलाई दिएर मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

तर उनकै दल एमालेमा असन्तुष्टि देखिएको छ । एमालेबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका विनोदकुमार शाहले शपथ नै लिन मानेनन् ।

२७ चैतमा मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता कँडेललाई मन्त्रिपरिषद् गठन गर्न नै सकस भएको थियो । कँडेलले आफ्नो शपथकै दिन सानो आकारको मन्त्रिपरिषद् गठन गर्न चाहेका थिए । तर सत्ता घटक माओवादी केन्द्रले मन्त्रालय भागवण्डा नभएसम्म मन्त्री नपठाउने अडान लियो ।

त्यसपछि मन्त्रालय भागवण्डामा पनि माओवादीले आफूले चाहेको मन्त्रालय लिइछाड्ने नीति लियो ।

माओवादी संसदीय दलका नेता राजकुमार शर्माले २०७९ मा आफ्नो नेतृत्वको सरकारमा एमालेले जुन जुन मन्त्रालय लिएको थियो, त्यही अहिले पाउनुपर्ने अडान लिए ।

आर्थिक मामिला तथा योजना, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय दिन तयार भएका मुख्यमन्त्री कँडेलले सामाजिक विकास मन्त्रालय चाहिँ आफैंसँग राख्न खोजे । यसका लागि सहमति खोज्दै कँडेल काठमाडौं आएर नेताहरुलाई समेत भेटेका थिए ।

तर कर्णलीका माओवादी नेताहरुले सामाजिक विकास मन्त्रालय कुनै हालतमा छाडेनन् ।

त्यसबीचमा मुख्यमन्त्री कँडेलले १३ वैशाखमा विश्वासको मत लिने निर्णय गरे । तर माओवादी केन्द्रले मन्त्रालय टुंगिनुपर्ने अडान कायमै राखेपछि कँडेल सामाजिक विकास मन्त्रालय छाड्न बाध्य भए । माओवादीले मागेअनुसार आर्थिक मामिला, उद्योग र जलस्रोत र सामाजिक विकास मन्त्रालय पायो भने एमालेको भागमा भौतिक पूर्वाधार, आन्तरिक मामिला र कृषि मन्त्रालय पर्‍यो ।

सहमतिसँगै माओवादीले संकेतिक रुपमा विश्वासको मत लिने अघिल्लो दिन नै रणसिंह परियारलाई सरकारमा पठायो । १३ गते विश्वासको मत लिए लगतै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थियो । एमाले अध्यक्ष केपी शर्मा ओली नै सम्भावित मन्त्रीहरुको लिस्ट मुख्यमन्त्री कँडेललाई दिएका पनि थिए ।

स्रोतका अनुसार ओलीले दैलेखका प्रदेशसभा सदस्य विनोदकुमार शाहलाई तोकेरै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिन भनेका थिए ।

यस्तै डोल्पाका शेरबहादुर बुढा र महिलाबाट रुकुम पश्चिमकी तुलसा मल्ल वा कालीकोटका दक्षिणा शाहीमध्ये एकलाई मन्त्री बनाउन भनेका थिए । तर पछिल्लो समय ओलीसँग असहमति राख्दै आएका कँडेलले उनको निर्देशन माननेन् ।

उनले विनोदलाई भौतिक पूर्वाधारको साटो कृषि मन्त्रालय दिए । स्रोतका अनुसार मंगलबार बिहानसम्म कँडेल भौतिक पूर्वाधार मन्त्रालय आफैंसँग राख्ने तयारीमा थिए ।

तर अन्तिम समयमा शेरबहादुर बुढालाई त्यो मन्त्रालय दिएर आन्तरिक मामिला आफूसँग राखे । अनि महिलामा ओलीले लिएका नाम तुलसा मल्ल वा दक्षिणा शाहीलाई छाडेर दैलेखकै गमता बिकलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाए ।

एमालेका एक प्रदेशसभा सदस्यका अनुसार मन्त्रीबारे निर्णय गर्दा कँडेलले संसदीय दलमा छलफल नै गरेनन् । मन्त्रीहरुलाई शपथका लागि बोलाउँदा समेत मन्त्रालय खुलाएका थिएनन् ।

कुन मन्त्रालय भनेर सोध्दा शपथमा आउनुस्, त्यहीँ थाहा हुन्छ भनेका थिए । तर केन्द्रको निर्देशनअनुसार भौतिक योजना मन्त्रालय नपाउने संकेत पाएपछि विनोदकुमार शाहले शपथ नै लिएनन् ।

‘दलभित्र छलफल र समन्वय नभएकाले शपथ लिन नगएको हुँ’, शाहले अनलाइनखबरसँग भने ।

मंगलबार नियुक्त अरु मन्त्रीले भने शपथ लिएका छन् । एमालेबाट शेरबहादुर बुढा भौतिक पूर्वाधार मन्त्री बन्दा गमता बिकलाई राज्यमन्त्री बनेकी छन् । यस्तै माओवादीबाट महेन्द्र केसी आर्थिक मामिला तथा योजना, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरण र वीरबहादुर शाहीलाई सामाजिक विकास मन्त्री बनेका छन् ।

माओवादीका रणसिंह परियारले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । तर एमालेकै विनोदकुमार शाहले शपथ नलिएका कारण मुख्यमन्त्री कँडेल नेतृत्वको सरकारले मंगलबार पनि पूर्णता पाउन सकेन ।

Працює на Плагін Echo RSS від CodeRevolution.