१४ वैशाख, काठमाडौं । टर्कीको केन्द्रीय बैंक (सीबीआरटी)ले मुद्रास्फितिको सामना गर्नका लागि ब्याजदर बढाएको छ । बैंकले गत बिहीबारदेखि लागू हुनेगरी एक हप्ताको रिपर्चेज दर ४५ प्रतिशतबाट ५० प्रतिशत कायम गरेको हो ।

देशको मुद्रास्फितिसँग जुध्न यो आवश्यक रहेको मोनिटरी पोलिसी कमिटीले निष्कर्ष निकालेको सीएनबीसीले उल्लेख गरेको छ । ५० प्रतिशत नै सन्दर्भ ब्याजदर लागू गर्दै कमिटीले आगामी महिनामा हुने मूल्यवृद्धिले ब्याजदर तय हुँदै जाने स्पष्ट पारेको छ ।

‘फेब्रुअरी महिनामा मासिक मुद्रास्फिति अपेक्षितभन्दा बढी हुन गयो, जसमा सेवा मुद्रास्फीति उच्च छ’ कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको विषय उदृत गर्दै सीएनबीसीले लेखेको छ ‘भूराजनीतिक जोखिम र सेवा तथा खाद्य मूल्यमा देखिएको वृद्धिले समग्र मुद्रास्फीतिमा दबाब दिएको छ ।’

टर्कीको वार्षिक उपभोक्ता मुद्रास्फीति दर ६७ प्रतिशत छ । कमिटीले मुद्रास्फीति बढ्न नदिनका लागि आवश्यक परेमा ब्याजदर थप बढाउने स्पष्ट पारेको छ ।

‘मुद्रास्फीतिको दरमा कमी नआएसम्म कडा मौद्रिक व्यवस्थालाई कायम राखिनेछ’ कमिटीले भनेको छ ‘आगामी महिनाका ब्याजदर पनि मुद्रास्फितिकै दरमा अन्तरनिहीत हुनेछ ।’ छोटो अवधिमा टर्कीमा ब्याजदर निकै उच्च दरले बढेको छ । ठीक एक वर्षअघि टर्कीको सन्दर्भ ब्याजदर साढे ८ प्रतिशत थियो ।

टर्कीका राष्ट्रपति रेसेप तयीप एर्दोगनले केन्द्रीय बैंकमा गभर्नरका रुपमा फतिह करहानलाई नियुक्त गरेका छन् । नयाँ गभर्नरले मुद्रास्फीति दरलाई सन्तुलनामा ल्याउने अपेक्षा गरिएको छ ।

पछिल्लो समय बढ्दो मुद्रास्फीतिले टर्कीको मुद्रा लिरा कमजोर बन्दै गएको छ । एक वर्षकै अवधिमा डलरको तुलनामा लिरा ४० प्रतिशतले कमजोर बनेको छ । पछिल्लो ५ वर्षमा डलरको तुलनामा लिराको भाउ ८२ प्रतिशतले घटिसकेको छ । यदि मुद्रास्फिति नियन्त्रणमा नआउने हो भने लिराको भाउ अझै घट्न सक्ने विश्लेषण भइरहेका छन् ।

از: وی بلیٹن بازگشت آر ایس ایس پلگ ان بذریعہ کوڈ ریوولوشن.