२ जेठ, काठमाडौं । केही समय अघिसम्म नेपाली टेबुल टेनिस खेलाडीले ओलम्पिक खेल्ने कल्पना मात्र गर्न सक्थे, बुधबार भने यो यथार्थमा नै परिणत भएको छ । नेपाली खेलाडी स्यान्टु श्रेष्ठ छनोट चरण पार गरेर पेरिस ओलम्पिकमा छनोट भएका छन् ।

‘मैले टेबुल टेनिस खेलुञ्जेल ओलम्पिक खेल्छु भन्ने सपना देखेको थिइन, किनभने सम्भव नै थिएन । दक्षिण एसियाली क्षेत्रबाट छनोट भए पनि फेरि एसियन छनोट खेल्नुपथ्र्यो । मैले साफ गेममा इतिहास रच्ने हो भन्ने नै अन्तिम लक्ष्य थियो’, पेरिस ओलम्पिकमा छनोट भएपछि उनले भने ।

लैनचौरको टेबुल टेनिस हलमा नेपाली प्रतिद्वन्द्वी संयोग कपालीलाई ४–३ को सेटमा पराजित गर्दै स्यान्टु ओलम्पिकमा छनोट भएका हुन् ।

२ वर्षयता अष्ट्रेलियामा बस्दै आएका स्यान्टु यही ओलम्पिक छनोटका लागि नेपाल फर्किएका थिए । नेपालबाट ४ खेलाडीले ओलम्पिक छनोट खेलेका थिए । जसमा पुरुषतर्फका दुबै खेलाडी फाइनलमा पुगेका थिए । त्यसैले फाइनलमा जसले जिते पनि नेपाली खेलाडी नै ओलम्पिकमा पुग्ने मंगलबार नै तय भएको थियो ।

यसअघि ओलम्पिक छनोट खेलका खेल्न पाउने भएपछि स्यान्टुले अष्ट्रेलिया फर्केर कोरियाली प्रशिक्षकसँग प्रशिक्षण गरेका थिए ।

‘अष्ट्रेलियामा हुँदा फ्री टाइम हुँदैनथ्यो । तैपनि दैनिक २/३ घण्टा कोरियन प्रशिक्षकसँग प्रशिक्षण लिएँ । म अष्ट्रेलियाबाट नै बलियो सोच बनाएर आएको थिएँ । मेरो मेहनत र भगवानको साथले मैले लक्ष्य प्राप्त गरें’, स्यान्टुले भने ।

ओलम्पिक छनोट हुँदा

छनोट चरण पार गरेर ओलम्पिकमा पुग्ने धेरै कम खेलाडी मात्र छन् । तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । त्यसपछि स्यान्टु नै छनोट चरण पार गरेर ओलम्पिक खेल्ने खेलाडी बने ।

बुधबार लैनचौरमा भएको खेलमा विजयी भएपछि उनी कर्भड हलको भुइँमा सुते । त्यसअघि खेलमा पछि परेको स्थितिबाट कमब्याक गर्दै राम्रो लय समात्दै उनी विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा छनोट भएका थिए ।

‘मनमा चाहिँ रुन आइरहेको थियो । राष्ट्रिय रेकर्ड त थियो तर अन्तर्राष्ट्रिय रुपमा नै रेकर्ड राख्न पाएकोमा खुसी लागेको छ’, उनले भने, ‘मैले मेरो परिवारलाई सम्झिएँ । मेरो बाबा, ममीलाई विशेष रुपमा सम्झिएँ, यो पल शब्दमा बयान गर्न सक्दिन ।’

१६ वर्षकै उमेरमा राष्ट्रिय च्याम्पियन बनेका स्यान्टु दुई वर्षयता अष्ट्रेलियामा थिए । त्यहाँ कहिलेकाहीँ समय निकालेर अभ्यास गर्थे । तर पछिल्लो समय ओलम्पिक छनोटका लागि भने उनले राम्रो तयारी गरेका थिए ।

संघका पूर्वअध्यक्ष चतुरानन्द वैद्यले स्यान्टु ओलम्पिकमा छनोट हुनु ऐतिहासिक भएको बताए । ‘व्यक्तिगत खेलमा नेपाली खेलाडीले पनि छनोट चरण पार गरेर ओलम्पिक खेल्न सक्छ भन्ने उदाहरण देखाएर स्यान्टु धेरैको प्रेरणा बनेका छन्’, उनले भने ।

स्यान्टुका प्रशिक्षक राजेन्द्र कपाली पनि यो नेपालका लागि इतिहासकै स्वर्णिम पल भएको बताउँछन् । ‘विशेषत व्यक्तिगत र र्‍याकेट खेलमा छनोट चरण पार गरेर ओलम्पिक खेल्ने भनेको धेरै ठूलो उपलब्धी हो’, उनले भने ।

स्यान्टुको पुनरागमन

चार पटक राष्ट्रिय च्याम्पियन भएका स्यान्टुको ओलम्पिक छनोटका प्रतिस्पर्धी संयोग कपाली नेपालकै तेस्रो नम्बरका खेलाडी हुन् । दोस्रो नम्बरका रुबिन महर्जन भने ओलम्पिक छनोटमा पनि छनोट भएनन् ।

दुई वर्ष विदेश बसेर पनि पुनः खेलमा फर्किएका स्यान्टु आफ्नो खेल जीवन भने सुरक्षित नरहेको प्रतिक्रिया दिन्छन् । ‘म ओलम्पियन भएँ । तर मेरो भविष्य पनि मैले सोच्नुपर्छ । मेरो भविष्य सुरक्षित छ कि छैन, भन्ने सोच्नुपर्छ ।’

पछिल्लो समय नेपल टेबुल टेनिस संघभित्र चरम विवाद छ । अधिवेशनलाई लिएर दुई पक्षबीचको झगडाले संघ हाल अस्तित्वमा छैन । यही कारण स्यान्टु विदेशिएका थिए ।

२०७३ सालमा विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुदमा स्यान्टुले तत्कालीन नम्बर एक वरियताका खेलाडीलाई पराजित गरेका थिए ।

त्यसयता २०७४ मा ३९ औं राष्ट्रिय च्याम्पियनसिप, आठौं राष्ट्रिय खेलकुदसम्म राष्ट्रिय च्याम्पियनसिप र अन्य घरेलु प्रतियोगितामा स्यान्टु दोस्रो हुनुपरेन ।

सन् २०१९ डिसेम्बर (२०७६ मंसिर)मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली टेबुल टेनिसले स्यान्टुकै प्रर्दशनमा कीर्तिमानी सफलता हासिल गर्‍यो । एकै प्रतियोगितामा एक रजत र तीन कांस्यसहित चार पदक जित्ने उनी एक्ला खेलाडी बनेका थिए ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

Powered דורך די ווידערקאָל רסס פּלוגין דורך קאָדרעוואָלוטיאָן.