६ चैत, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार माओवादी केन्दबाट दुई मन्त्री, एकीकृत समाजवादीबाट एक मन्त्री र एमालेबाट एक राज्यमन्त्री थप गरे । मुख्यमन्त्री भएको १५ महिनामा उनले मन्त्रिपरिषदमा गरेको यो ११ औं पुनर्गठन हो ।

बिहीबार मन्त्री बनेका माओवादी केन्द्रका भरतप्रसाद साह र एकीकृत समाजवादीकी बेची लुंगेली विना विभागीय छन् भने माओवादीका युवराज भट्टराई उद्योग तथा पर्यटन मन्त्री बनेका छन् ।

एमालेकी शारदा थापा भने गृह तथा सञ्चार राज्यमन्त्री बनेकी छन् । माओवादी केन्द्रले यसअघिकी उद्योग पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर भट्टराईलाई पठाएको हो । माओवादीले उद्योग पर्यटन राज्यमन्त्री रहबर अन्सारीलाई पनि फिर्ता बोलाएको छ ।

मुख्यमन्त्री यादवले ११ औं पटक मन्त्रिपरिषद पुनर्गठन गरेपनि मन्त्रिपरिषदको झमेला सकिएको छैन । जनमतले छाडेको श्रम तथा यातायात र गत मंगलबार लोसपाले छाडेको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री यादवले आफैं सित राखेका छन् ।

माओवादीबाट विना विभागीय मन्त्री बनेका साह मुख्यमन्त्रीसँग रहेका दुईमध्ये कुनै पनि मन्त्रालय लिन तयार छैनन् । उनी जसपाका सञ्जयकुमार यादवले सम्हालेको अर्थ मन्त्रालय आफूले पाउनुपर्ने अडानमा छन् । मुख्यमन्त्रीले श्रम तथा यातायात मन्त्रालय लिन आग्रह गरेपनि माओवादीले अस्वीकार गर्दै आएको छ ।

‘अर्थ मन्त्रालय दिने शर्तमा साहले विना विभागीय मन्त्रीको रुपमा शपथ लिनुभएको हो । अब केहीदिनमा वातावरण मिलाएर त्यसमा व्यवस्थापन गर्ने मुख्यमन्त्रीले वचन दिनु भएको छ’, माओवादी केन्द्रका एक नेताले भने ।

अर्थमन्त्रालय माओवादीले दावी गरेपछि मुख्यमन्त्री यादव दबाबमा छन् । गत वैशाख ४ गते माओवादी र एकीकृत समाजवादीलाई नमिलाए विश्वासको मत नपाउने देखिएपछि उनले दुबै दललाई एक एक वटा मन्त्रालय थप गरिदिने सहमति गरेका थिए ।

तर माओवादी नेताहरु भने शक्तिशाली मन्त्रालय दिने सहमति गरेको जिकिर गर्छन् ।

एकीकृत समाजवादीले पनि राम्रो मन्त्रालय चाहेको छ । एकीकृत समाजवादीका प्रदेश सांसद रत्नेश्वर गोइत भन्छन्, ‘माओवादीले विना विभागीयमा शपथ लिइरहेको छ भने हाम्रो दलबाट लुंगेलीले लिउन् भनेर तत्काल विना विभागीयको शपथ लिनुभएको छ । २/३ दिनमा टुंगो लागिहाल्छ ।’

१५ सदस्यीय मधेशको मन्त्रिपरिषदमा जसपाका ५ जना छन् । अर्थ मन्त्रालयमा जसपाका सञ्जय यादव, खेलकुद तथा समाज कल्याण मन्त्रालयमा जसपाकी सुरिता साह, ऊर्जा, सिंचाइ तथा खानेपानीमा जसपाकै सिंहासन सिंह कलवार र राज्यमन्त्री शेषर अब्दुल कलाम आजाद छन् ।

त्यस्तै एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरोज यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सत्रुधन सिंह, गृह संचार तथा कानुन मन्त्रालयमा राजकुमार लेखी र शिक्षा तथा संस्कृति मन्त्रालयमा प्रमोदकुमार जयसवाल मन्त्री छन् । गृह संचार तथा कानुन मन्त्रालयमा राज्यमन्त्री शारदा थापा र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा केशव राय गरी मन्त्रिपरिषदमा ६ जना छन् ।

मन्त्रिपरिषदमा माओवादी र एकीकृत समाजवादीबाट दुई दुईजना छन् । माओवादी केन्द्रबाट विना विभागीय साह र उद्योग पर्यटन मन्त्री युवराज भट्टराई छन् । त्यसै गरी एकीकृत समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गोविन्दबहादुर न्यौपाने र विना विभागीय बेची लुंगेली छन् ।

Agbara nipasẹ awọn Iwoyi RSS itanna nipasẹ CodeRevolution.