१ जेठ, काठमाडौं । नेपाली खेलाडी स्यान्टु श्रेष्ठ, संयोग कपाली र इभाना थापा पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबल टेनिसको दक्षिण एसियाली छनोटको सेमिफाइनलमा प्रवेश गरेका छन् । नविता श्रेष्ठ भने क्वार्टरफाइनलबाटै बाहिरिएकी छन् ।

पुरुष सिंगल्सतर्फ स्यान्टु ग्रुप वान तथा संयोग ग्रुप टु को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । पहिलो दिनै लगातार दुई खेल जितेका स्यान्टुले दोस्रो दिन मंगलबार श्रीलंकन जयशंका डे शिल्भालाई ४-० ले पराजित गर्दै समूह चरणमा अपराजित बने ।

ग्रुप वानमा स्यान्टुले ३ खेल जित्दै ६ अंक जोडेर समूह विजेता बन्दा श्रीलंकन जयशंका ५ अंक जोडेर उपविजेता बने ।

यस्तै ग्रुप टु मा पहिलो खेलमा हारेपनि त्यसपछि लगातार दुई खेल जित्दै संयोग समूह विजेता बने । संयोगले मंगलबार श्रीलंकन चमिरा जिनिजलाई ४-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

अब सेमिफाइनलमा स्यान्टुले श्रीलंकन चमिरा जिनिज तथा संयोगले श्रीलंकाकै जयशंका डे शिल्भासँग खेल्नेछन् ।

फाइनल जित्ने खेलाडी पेरिस ओलम्पिकमा छनोट हुने भएकाले दुई नेपाली खेलाडी फाइनल पुगेमा पेरिस ओलम्पिकमा सहभागिता निश्चित हुनेछ ।

महिला सिंग्लसतर्फ इभाना थापा क्वाटरफाइनलमा बाई पाउँदै सेमिफाइनल पुगेकी हुन् । उनले अब सेमिफाइनलमा श्रीलंकन खेलाडी बिनान्दी बान्दारसाँग प्रतिस्पर्धा गर्नेछिन् । बिमान्दीले क्वार्टरफाइनलमा माल्दिभ्सकी मिश्खा इब्राहिमलाई ४-० ले हराउँदै सेमिफाइनल पुगेकी हुन् ।

यस्तै नविता भने श्रीलंकन खेलाडी इशारा मादुराङ्गीसँग प्रतिस्पर्धात्मक खेलमा ४-३ ले पराजित भइन् । यो हारपछि नविताको पेरिस ओलम्पिक छनोट हुने सम्भावना सकिएको छ । अब महिला र पुरुष दुवैतर्फको सेमिफाइनल र फाइनल खेल बुधबार हुनेछ ।

Agbara nipasẹ awọn Iwoyi RSS itanna nipasẹ CodeRevolution.