२ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । चुनावको क्रममा उनले बुझाएको सम्पत्ति विवरणमा उनीसँग तीन करोड भारतीय रुपैयाँभन्दा बढी रकम छ । अधिकांश रकम बैंकमा फिक्स्ड डिपोजिट छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले १४ मे (मंगलबार) आफ्नो चुनाव क्षेत्र वाराणसीबाट उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिने क्रममा बुझाएको विवरणमा मोदीसँग ३ करोड दुई लाख ६ हजार ८८९ रुपैयाँको चल सम्पत्ति रहेको बीबीसी हिन्दीले जनाएको छ ।

त्यसमध्ये करिब २ करोड ८५ लाख रुपैयाँ भारतीय स्टेट बैंकमा फिक्स्ड डिपोजिट छ । उनीसँग ५२ हजार ९२० रुपैयाँ क्यास पनि छ ।

यसैगरी उनीसँग सुनको चारवटा औंठी पनि छन् । ती औंठीको मूल्य २ लाख ६७ हजार रुपैयाँ छ ।

गत आर्थिक वर्षमा उनले ३ करोड ३३ लाख रुपैयाँ रकम भएको विवरण सार्वजनिक गरेका थिए ।

चुनावमा उम्मेदवारी दर्ता गर्दा बुझाएको सम्पत्ति विवरणमा मोदीले अचल सम्पत्तिबारे भने केही पनि उल्लेख गरेका छैनन् । अचल सम्पत्तिमा सामान्यता घर जग्गाको विवरण उल्लेख गरिन्छ । तर मोदीले त्यो कोलममा केही पनि उल्लेख नगरेको बीबीसी हिन्दीले जनाएको छ ।

उनले आफ्नो पत्नीको नाम जशोदाबेन उल्लेख गरेका छन् । पत्नी जशोदाबेनसँग कति सम्पत्ति छ भन्ने पनि उक्त विवरणमा उल्लेख छैन ।

सन् २०१९ को लोकसभा चुनावको बेला मोदीले गुजरातको गान्धीनगरमा एउटा घडेरी र २ करोड ५ लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका थिए । त्यसमध्ये १ करोड २७ लाख रुपैयाँ फिक्स्ड डिपोजिट थियो ।

सन् २०१४ को लोक सभा चुनावको बेला मोदीले १ करोड ६५ लाख रुपैयाँ बराबरको सम्पत्ति विवरण बुझाएका थिए ।

मोदीले आफू भारतको अहमदाबाद निवासी भएको उल्लेख गरेका छन् । उनले दिल्ली विश्वविद्यालयबाट सन् १९७८ मा बीए पास गरेको र १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए पास गरेको उल्लेख गरेका छन् ।

Agbara nipasẹ awọn Iwoyi RSS itanna nipasẹ CodeRevolution.