८ जेठ, काठमाडौं । मंगलबार प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भयो । सरकार गठन भएको १६ महिनामा १८ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा पहिलो पटक मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

मन्त्रीहरुको सम्पत्ति विवरणमा घरजग्गा, बैंक मौज्दात, सुनचाँदी, शेयर, गाडी र अन्य जायजेथाको विवरण छन् । धेरैजसो मन्त्रीहरुले सम्पत्ति स्वआर्जन नभई पैतृक भएको दाबी गरेका छन् ।

नगद आयलाई तलब भनेका छन् भने सुनचाँदी उपचार र दाइजो भनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैंले २०७३ सालमा प्रधानमन्त्री हुँदा १ कठ्ठा मात्रै पैतृक जग्गा देखाएकामा अहिले १५ कठ्ठाको अर्को कित्ता पनि पैतृक जमिनका रुपमा उल्लेख गरेका छन् ।

त्यतिबेला ३ तोला मात्रै पैतृक सुन भएको विवरण सार्वजनिक गरेका उनले यसपटक ५ तोला भएको उल्लेख गरेका छन् ।

मन्त्रीहरुको सम्पत्ति विवरणमा उल्लेख भएको सुनको परिमाण र स्रोत भने अरुभन्दा रोचक छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पत्नी निकिता पौडेलसँग ८० तोला सुन रहेको पनि खुलाएका छन् । त्यसको स्रोत भने अधिकांश बुबाआमाले दिएको र केही खरिद गरेको उल्लेख गरिएको छ । त्यस्तै, १५/२० किलोग्राम चाँदी रहेको भनिएको छ । त्यो २५० देखि ३०० प्रति तोला भएको बेला खरिद गरेको सम्पत्ति विवरणमा खुलाएका छन् ।

यसैगरी उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसँग ४५ तोला सुन र डेढ केजी चाँदी छ । सम्पत्ति विवरणअनुसार महासेठसँग जवाहरतका रुपमा ७ थान औंठी, ३ थान हार, ३ थान कानमा लगाउने गहाना र २ जोडा दुई जोडा चुरा समेत छ । यो सबै सम्पत्ति पैतृक, खरिद र उपहारका रुपमा आएको उनको विवरणमा उल्लेख छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पनि ५ तोला सुन रहेको र यसको स्रोत पैतृक नै भएको उल्लेख गरेका छन् ।

संघीय मामिला तथा समान्य प्रशासनमन्त्री भानुभक्त जोशीले पनि ९० तोला सुन रहेको उल्लेख गरेका छन् । यसको स्रो पैतृक, उपहार र दाइजो भएको विवरणमा उल्लेख छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ६ तोला सुन र ८ तोला चाँदी रहेको विवरण्मा उल्लेख गरेका छन् । तर, यो सुनचाँदी तलब भत्तबाट खरिद गरिएको उल्लेख छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुनचाँदी पैतृक र उपहारकै स्रोत भएको उल्लेख गरेकी छिन् । उनीसँग ६ तोला सुन र २ तोला चाँदी छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको स्वामित्वमा २३ तोला सुन छ । उनले पनि सम्पत्ति विवरणमा सो सुनको स्रोत पैतृक नै उल्लेख गरेका छन् ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वलाकुमारी साहसँग १० तोला सुन र २५ तोला चाँदी छ । त्यसको स्रोत पुख्र्यौली भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग १० तोला सुन छ । उनले सो सुन स्वआर्जन र छोराको कमाइबाट खरिद भएको उल्लेख गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको विवरणमा ६ तोला सुन रहेको उल्लेख छ । सो सुन श्रीमतीको नोकरी र कृषि व्यवसायको आयबाट किनेको लेखिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग ७५ तोला सुन छ । उनीसँग २५ किलोग्राम चाँदी छ । उनले सुनचाँदीको स्रोत खुलाएकी छैनन् ।

खानेपानी मन्त्री राजेन्द्रकुमार राईको स्वामित्वको १० तोला सुन र १०० तोला चाँदी छ । उनले सम्पत्ति विवरणमा सो सुन २०५१ सालमा पैत्रिक सम्पत्तिका रुपमा पाएको उल्लेख गरेका छन् ।

रक्षामन्त्री हरि उप्रेतीसँग २५ तोला सुन छ । यो पुर्ख्यौली स्रोतबाट पाएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

सहरी विकासमन्त्री धनबहादुर बुढासँग १५० तोला सुन र ३०० तोला चाँदी छ । । उनले पनि यो सुनचाँदीको स्रोत पैत्रिक रुपमा पाएको र केही व्यापारको आयबाट खरिद गरेको उल्लेख छन् ।

श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग सुन १५० तेला, चाँदी १०० तोला र हिरा १० तोला छ । २०७४ ताका यी गहना व्यापार व्यवसायबाट भएको करिब १ करोड रुपैयाँ आयस्रोतबाट किनेको उनको विवरणमा उल्लेख छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग ११ तोला सुन छ । त्यसमध्ये १० तोला विवाहमा उपहार आएको र थप १ तोला हजुरआमाको निधनपछि पाएको उल्लेख छ ।

उनले १०० तोला चाँदी विवाहमा उपहार आएको उल्लेख गरेकी छिन् । एक हिराको सेट पनि विवाहमै उपहार पाएको र हिराको टप हजुरआमाको निधनपछि पाएको विवरणमा छ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको स्वामित्वमा १५ तोला सुन र ५० तोला चाँदी छ । पत्थरहरु पनि भएको उल्लेख गरेका श्रेष्ठले परिमाण खुलाएका छैनन् । उनले सुनचाँदी र गहना सबै पैत्रिक स्रोत र विवाहमा प्राप्त भएको उल्लेख गरेका छन् ।

वनमन्त्री नवलकिशोर साह सुडीकी श्रीमती सावित्रीकुमारी सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी छ । यो सबै विवाह गर्दा ससुराली र बुबा आमाबाट उपहारस्वरुप प्राप्त भएको विवरणमा उल्लेख छ ।

उनले विवरणमा छोरा सुमित कुमारसँग ३५ तोला सुन, बुहारीहरु माधवी भारतीसँग २२ तोला सुन, शालिनी देवीसँग १७ तोला र मञ्जु साहसँग २८ तोला सुन रहेको उल्लेख गरेका छन् । ती पनि विवाह गर्दा नै उपहारस्वरुप प्राप्त भएको विवरणमा उल्लेख छ ।

Agbara nipasẹ awọn Iwoyi RSS itanna nipasẹ CodeRevolution.