१४ वैशाख, जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका ६ जरलहवागाछी टोलकी विमलादेवी पासवान बिहीबार दिउँसो ४ बजेतिर जलेर खरानी भइसकेको आफ्नो घरअगाडि बिलौना गर्दै थिइन्, ‘अब कहाँ बस्ने, के लगाउने, के खाने ? ठूलो विपत्त पर्‍यो ।’

छिमेक मुस्लिम बस्तीमा सल्केको आगोले बुधबार दिउँसो पासवानको घर हेर्दाहेर्दै खरानी बनाएको थियो । एकाएक बेघर बनेकी उनी अहिले २ छोरी, नातिनातिना र आमासहित ६ जना नगरपालिकाले दिएको त्रिपालमुनि दिनरात काट्न बाध्य छन् ।

विमलादेवी पासवान

बुधबार दिउँसो १२ बजेतिर करिब सय मिटर परको जरलहावागाछी मुस्लिम बस्तीमा आगलागीको हल्ला भयो । छिमेकमा आगलागीको हल्ला सुनेपछि घरमै बसिरहेकी विमलादेवी पनि अत्तालिइन् ।

हत्तपत्त उनका परिवारका सदस्य बाहिर निस्केर फुसको घरको छानोमा पानी छर्किएर बचाउने उपायमा लागे ।

त्यतिबेलै आगलागी भएको बस्तीबाट ठूलो विस्फोटको आवाज आयो । आगलागीमा पड्केको ग्यास सिलिन्डरले आगोको झिल्को सय मिटर पर छिमेकको घरमाथि खस्यो । चलिरहेको तातो हावाले विमलाको घर पनि आगलागीको चपेटामा पर्न समय लागेन ।

हेर्दाहेर्दै बस्तीभरका घर एकएक गर्दै दनदनी बल्न थाले ।

‘उता आगलागीमा ग्यास सिलिन्डर बिस्फोटको आवाज आयो । पडोसीको घरमा पनि आगो लाग्यो । मेरो घर पनि बाँकी रहेन’, विमलाले दुखेसो पोखिन्, ‘हेर्दाहेर्दै क्षणभरमै मेरो घर खरानी भयो । केही पनि झिक्न सकिनँ । रुपैयाँ, पैसा, अन्न, लत्ताकपडा, नागरिकता सबै जल्यो ।’

विमलाका श्रीमान विपतीया २ वर्षदेखि वैदेशिक रोजगारमा छन् भने २ छोरा पनि भारतमा मजदुरी गर्छन् । ४ दिनअघि मात्रै छोरा इन्द्रले मद्रासबाटा घरखर्चका लागि १० हजार भारु पठाएका थिए । त्यो पैसासँगै विमला खाने अन्न र लताकपडा केही बाँकी रहेन ।

०००

मुस्लिम बस्तीकी ६२ वर्षीया खैरुन खातुन खेतमा काम गरिरहेका श्रीमान ७२ वर्षीय मो अजिज शेखलाई खाना पुर्‍याएर भर्खर घर फर्केकी थिइन् । आँगनमा फलेको करेला टिपिरहेको बेला आगलागीको हल्ला सुनिन् ।

धुवाँको मुस्लो हेरेर अत्तालिएकी खातुन ‘केही बचाउँछु कि !’ भन्ने सोच्दै थिइन्, त्यतिकैमा ग्यास सिलिन्डर विस्फोट भएको चर्को आवाज आयो । आगोको झिल्को उनकै खरको छानामाथि खस्यो ।

खैरुन खातुन

‘मैले त पकाएको भात पनि खान सकिनँ । करेला टिपेर पकाएको भात खान्छु सोचेको थिएँ’, खातुन निरस सुनिइन्, ‘छेउको घरमा आगो लागेको हल्ला सुनें । घरबाट केही झिक्न पनि सकिनँ । सबै जलेर राख भयो ।’

खातुनले पछि मात्र थाहा पाइन्, सुरुमा आगोको चपेटामा परेको त आफ्नै जेठो छोरा मोहम्मद वामिल शेषको घर पो रहेछ !

जेठो छोरा मोहम्मदकै त्यही घरको छेउको परालबाट आगो सल्केको खातुनले बताइन् । उनको साइँलो छोरा मोमिद शेषको घर पनि आगलागीमा जलेर खरानी भयो ।

दिउँसोको समयमा आगलागी भएको हुँदा मानवीय क्षति भने हुन नपाएको उनको भनाइ छ । ‘दिउँसो थियो । सबै भागेर ज्यान बचाए । राति यस्तो आगलागी भएको भए कयौं मान्छे जलेर मर्थे होला’, खैरुनले भनिन् ।

खैरुनका ५ छोरा छन् । सबैसँग अंशबन्डा भइसकेको छ । त्यसमध्ये २ छोरा सुकुम्बासी बस्तीमै घर बनाएर बसेका थिए भने बाँकी ३ छोरा अन्यत्रै छन् ।

‘मेरो पति बुढेसकालमा ब्यालुन बेच्नु हुन्छ । मेरोजस्तै छोराहरुको फुसकै घर थियो । खाने लाउने अब कसैको बाँकी रहेन’, खातुनले भनिन्, ‘के खाने, कसरी घर बनउने, बस्ने ? हामी सहयोगबिना बाँच्न गाह्रो छ ।’

विमला र खैरुनजस्तै जरलहवागाछी टोलका १ सय १५ घरपरिवारको अवस्था अहिले यस्तै छ । बस्तीमा भएको १ सय २५ परिवारको घर जलेर नष्ट भएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल बताउँछन् । १० वटा वारुणयन्त्र, ३ सय जनाभन्दा बढी सुरक्षाकर्मी, स्थानीयको सहयोगमा ६ घण्टापछि आगो नियन्त्रण भएको थियो ।

घर जलेकाहरु सबै सुकुम्बासी हुन् । उनीहरु गुठीको ऐलानी जग्गामा वर्षाैंदेखि फुसकै घर बनाएर बस्दै आएका थिए । जनमजदुरी गरेर जीविकोपार्जन गर्ने उनीहरुको घर जल्दा खान लाउने, बस्ने समस्याले बिल्लीबाठ भएको छ ।

बालबालिकासहित जरलहवागाछी टोलका अग्निपीडितले पहिलो रात खुल्ला आकाशमुनि रात बिताए । चिउरा, चाउचाउ खाएर रात काटे । सबै राहतको पर्खाइमा छन् ।

पीडितलाई विभिन्न संघसंस्थाबाट राहत

आगलागी पीडितहरुको राहतको लागि मटिहानी नगरपालिका, जिल्ला विपद् व्यवस्थापन समिति तथा विभिन्न संघसंस्थाहरु जुटेका छन् ।

नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले बिहीबार प्रभावित सय घर धुरीलाई प्रति परिवार वाल्टिन १ थान, जग १ थान, र मटिहानी नगरपालिकाले त्रिपाल १ थान, चिउरा २ किलो, चिनी ५ सय ग्राम, पानीको बोतल २ थान राहत सामग्री उपलब्ध गराइएको छ ।

त्यस्तै, मटिहानी नगरपालिकाले प्रतिपरिवार ५ हजार नगद, २५ किलो चामल, ४ किलो दाल वितरण गरेको मेयर हरिप्रसाद मण्डलले बताए । अग्निपीडित क्षेत्रमा बिहीबार नेपाल–भारतमैत्री युवा संघ, जनकपुर न्युरो हस्पिटललगायतले पनि सहयोग उपलब्ध गराएका छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गोलालका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले विपद् व्यवस्थापन कोषवाट पीडित प्रतिपरिवार २० हजारको दरले राहत रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।

आगलागी पीडितहरुको दीर्घकालीन व्यवस्थापनका लागि गृहमन्त्रालय, पुनर्निर्माण प्राधिकरणको टोली निरीक्षणको लागि आएको प्रमुख जिल्ला अधिकारी गोलालले बताए ।

‘अहिलेसम्म जेजति भइरहेको छ अल्पकालीन विषयको लागि हो । दीर्घकालीन व्यवस्थापनका लागि गृहमन्त्रालय, पुनर्निर्माण प्राधिकरणको टोली निरीक्षणको लागि आएको छ’, गोलालले भने, ‘निरीक्षण गरेर यस विषषमा रिपोर्ट तयार गरी के गर्ने नगर्ने विषय टुंगिन्छ ।’

回聲RSS插件代碼革命.